स्वास्थ्य पूर्वाधार चुस्त बनाउन माग


नेपाल समाचारपत्र, काठमाडौं ।

विश्वका विभिन्न मुलुकमा रहेका आफ्ना नागरिकलाई स्वदेश नफर्काएको भन्दै सरकारको आलोचना भइरहेका बेला सांसदहरूले भने ती नागरिक स्वदेश फर्काउनुअघि स्वास्थ्य पूर्वाधार चुस्त पार्न माग गरेका छन् ।

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न मुलुकमा रहेका आफ्ना नागरिक स्वदेश फर्किन चाहे पनि सरकारले भने आफू जहाँ रहेको त्यहीं बस्दा सुरक्षित रहने भन्दै स्वदेश नफर्किन आग्रह गरेको थियो ।

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुधबार भएको छलफलमा सांसदहरूले ती नागरिक जो स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

बैठकमा बोल्दै सांसदहरूले भारतीय सीमा क्षेत्रमा डेढ महिनादेखि नागरिकहरू बसिरहेको भए पनि सरकारले प्रवेश निषेध गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

स्वदेश फर्किन चाहने विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउनुपर्ने धारणा समितिका सदस्य तथा सांसद माधवकुमार नेपालले राख्नुभयो । ‘लामो समय क्वारेन्टाइनमा बसिसकेका तर अहिले समस्या रहेका र विभिन्न प्रयोजनमा रहेका नागरिकलाई नेपाल ल्याउन सकिए राम्रो हुन्छ ।’ –उहाँले भन्नुभयो ।

अर्का सांसद भीम रावलले बैठकमा बोल्दै सीमा क्षेत्रमा अलपत्र नागरिकलाई नेपाल ल्याउन नसक्नु अलोकतन्त्रिक र निरङ्कुश चरित्र भएको बताउनुभयो । ‘सीमा क्षेत्रमा रहेका नागरिकलाई के कारणले रोक्नुपर्यो, यस्तो खालको अन्तर्राष्ट्रिय मर्यादाविपरीतको काम बन्द गरियोस् ।’ –उहाँले भन्नुभयो ।

‘भारतमा रहेका व्यक्तिहरूलाई त्यतिकै ल्याउनुहोस् भनेर कसैले भनेको छैन । जुन व्यक्तिमा संक्रमण छैन त्यसलाई ल्याउनुहोस्,’ उहाँले भन्नुभयो– ‘यहाँ ल्याएर कति दिन क्वारेन्टाइनमा राख्नुपर्ने हो राख्नुहोस् ।’

सांसद पुष्पा भुसालले रेमिट्यान्सबाट तलबभत्ता खाने तर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न नसक्ने भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो– ‘उनीहरूलाई सुरक्षित नेपाल भित्र्याउन सरकारी पुँजीलाई स्वास्थ्य क्षेत्रमा खर्च गर्न सरकार तयार छ कि छैन ?’