गभर्नरको हाइड्रो र बैंकमा शेयर लगानी


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । सार्वजनिक विवरण अनुसार उहाँको बैंक खातामा नेपाली र विदेशी मुद्रा दुवैमा निक्षेप रहेको देखिएको छ ।

उहाँ र परिवारको नाममा माछापुच्छ्रे बैंकमा १ लाख ६३ हजार ७६२ रुपियाँ नगद छ भने नबिल बैंकमा २ हजार ३०२ अमेरिकी डलर छ । उहाँकोे नागरिक लगानी कोषमा १२ लाख २४ हजार ६ सय रुपियाँ छ ।

गभर्नर नियुक्त भएको एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार उहाँले सम्पत्ति सार्वजनिक गर्नुभएको हो । अवकाशपछि पनि गभर्नरले एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ ।

उहाँसँग दुई वटा मोटरसाइकल र एउटा टोयोटा कार छ । उहाँले ५९ लाख रुपियाँ ऋण दिनुभएको छ भने ८ लाख १९ हजार ६०० रुपियाँ नागरिक लगानी कोषबाट ऋण लिनुभएको छ । १८ हजारको क्रेडिट कार्ड ऋण पनि छ । उहाँले दिनुभएको कुल ऋणमध्ये ५० लाख रुपियाँ मध्य–तमोरको शेयरमा हालेको पैसा हो ।

उहाँ संस्थापक शेयरधनी भएकाले ‘शेयर एडभान्स’ मा पैसा हाल्नुभएको हो ।
१४ लाख १० हजार रुपियाँको टिभी, फ्रिज, वासिङ मेसिन, कम्प्युटर, प्लेयर, फोन सेट, एसी, आइप्याड, सोफा सेट रहेको उहाँकोे विवरणमा उल्लेख छ ।

गभर्नर अधिकारीसँग नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धि इँटा र ज्योति स्पिनिङलगायत औद्योगिक क्षेत्रका कम्पनीहरूको ११ सय कित्ता शेयर छ । यसको कुल मूल्यांकन ४५ हजार २०० रुपियाँ हो ।

अधिकारीले नबिल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, ग्लोबल आइएमइ, एनआईसी एसिया, मेरो माइक्रो फाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्सको पनि शेयर किन्नुभएको छ ।

उहाँसँग यी कम्पनीको २७ हजार १८४ कित्ता शेयर छ । यसको मूल्यांकन ४८ लाख ३७ हजार ३९० रुपियाँ हुने उहाँले उल्लेख गर्नुभएको छ ।

अधिकारीले नबिल ब्यालेन्स फण्ड–२ मा १८ लाख लगानी गर्नु भएको छ भने चिलिमे जलविद्युत कम्पनी, एचआईडीसिएल, सानिमा माई, अपर तामाकोशीको २७ हजार ९२९ कित्ता शेयर किन्नुभएको छ ।

उहाँसँग २७ तोला सुनका गहना छन् भने ५० तोला चाँदीका गहना छन् । १८ हजार नगद घरमा छ । उहाँले सुनचाँदी पैतृक, विवाह र खरिदबाट आर्जन गरेको जनाउनुभएको छ । आफ्नो र श्रीमतीका नाममा जग्गा जमिन छ । साबिकको सैंबु गाविसमा उहाँसँग २७ आना ३ पैसा २ दाम जग्गा छ । यो दुई वटा कित्तामा छ। उहाँले विराटनगरको घरजग्जा बिक्री, सापटी र बचतबाट किनेको उल्लेख गर्नुभएको छ ।