‘ऋणको ब्याज मिनाहा हुँदैन’


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणको ब्याज मिनाहा गर्न नसकिने तर साँवा ब्याज तिर्ने समय भने केही पर सार्न सकिने बताउनुभएको छ । प्रतिनिधि सभा अर्थ समितिको मंगलबार बसेको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

गभर्नर अधिकारीले ऋण लिएपछि तिर्नुपर्छ, अप्ठेरो परेका बेला तिर्ने भाका सार्न सकिन्छ । तर, मिनाहा नै गर्न भने सकिँदैन भन्नुभयो । केन्द्रीय बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरूलाई साँवा, ब्याजको भाका थप्न निर्देशन दिइसकेको उल्लेख गर्दै उहाँले ऋण मिनाहा गर भनेर बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले निर्देशन दिन नसक्ने स्पष्ट पार्नुभयो ।

गभर्नर अधिकारीले कोरोनाका कारण उत्पन्न स्थितिबाट ऋणीलाई राहत पुगोस् भन्ने उद्देश्यले ऋणको ब्याजदर समेत घटाउने निर्णय भएको भन्दै ब्याज मिनाहाको दबाब कार्यान्वयन गर्न नसकिने बताउनुभयो । ब्याज तिर्ने मिति पर सर्न सक्छ ब्याज नै मिनाह हुने आशा भने नगर्र्न गभर्नर अधिकारीले बताउनुभयो ।

बैठकमा उहाँले अल्पविकसित मुलुकमा ब्याजदर महँगो नै हुने भन्दै अहिले नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५ करोड रुपियाँभन्दा बढी ऋण लिनेको संख्या ३६ प्रतिशत तथा ५० लाखभन्दा कम ऋण लिने ऋणीको संख्या ३४ प्रतिशत रहेको जानकारी दिनुभयो । मुलुकको अर्थतन्त्र टिकाइराख्ने उपाय अघि सार्नुपर्ने अवस्था रहेको भन्दै गभर्नर अधिकारीले रेमिटेन्स र राजस्व संकलनमा गिरावट आउने भन्दै आगामी मौद्रिक नीति त्यसलाई ध्यानमा राखेर आउने बताउनुभयो ।