कोरोनाले मृत्युको आँकडामा सबै रोगलाई उछिन्यो


लन्डन ।

चिनियाँ शहर उहानमा जनवरी ९ मा कोविड–१९ बाट पहिलो मृत्यु भएको थियो । त्यो बेलादेखि यो विश्व महामारीबाट करिब अढाइ लाखको मृत्यु भइसकेको छ । कोरोनाले सार्स, निपाह, मर्स र इबोला महामारीबाट भएका कुल मृत्युको आँकडालाई पहिले नै उछिनिसकेको छ । अब यसले अन्य प्रचलित रोगका कारण हुने गरेका मृत्युलाई पनि पछाडि पारिसकेको छ ।

एक अनुसन्धान अनुसार विश्वस्तरमा करिब कुनै पनि कुराको तुलनामा कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु भइरहेको नतिजाले देखाएको छ ।

ग्लोबल बर्डन अफ डिजिज स्टडीका अनुसार हरेक हप्ता मधुमेहबाट २० हजार, सडक दुर्घटनामा २५ हजार, फोक्सो तथा श्वास नलीको क्यान्सरबाट ३६ हजार, निमोनिया तथा ब्रोन्काइटिस जस्ता फोक्सोको संक्रमणबाट ४९ हजार औसत मृत्यु हुने गरेको छ ।

अप्रिलको एक हप्तामा कोरोना भाइरसबाट विश्वमा ५० हजारभन्दा धेरैको मृत्यु भयो । ग्लोबल बर्डनले डिजिज स्टडीको प्रतिवेदन हरेक वर्ष १ सय ९५ देशबाट २ सय ८२ प्रकारका रोगको आँकडा समावेश गरी तयार गर्ने गरेको छ ।

यो रोगका असर मानिसको मानसिक स्वास्थ्यमा परिरहेको छ । जस्तो रुसमा मार्चमो अन्तिम हप्ता भोड्काको बिक्री ३१ प्रतिशतले बढ्यो । अमेरिकामा मार्चमा बन्दुको बिक्री ८५ प्रतिशतसम्म बढेको थियो । अत्यधिक मदिरा र हतियारको उपयोग आत्महत्या पनि हुन सक्ने बताइएको छ ।

यद्यपि विगत केही हप्तामा साप्ताहिक कोरोनाबाट भइरहेको मृत्युको आँकडामा गिरावट आइरहेको छ । अप्रिल २९ को अन्तिम हप्तामा ४० हजारभन्दा कम मृत्यु भयो ।

धनी देशमा यस रोगको सबैभन्दा खराब समय सम्भवतः गइसकेको छ । तर, अब गरिब देश योसँग कसरी लड्छ र यसको कस्तो असर रहन्छ भन्नेमा चिन्ता बढेको छ ।