विश्वकप दिलाउने ‘की प्लेयर्स’



ज्यूरिच, एजेन्सी ।

कमै खेलाडी त्यस्ता हुन्छन् जसको एकल प्रयासमा टोलीले सफलता पाउने गर्दछ । विश्व फुटबलको इतिहासमा पनि त्यस्ता थुप्रै खेलाडीहरु छन् जसको बलबुटामा सिंगो टोलीले सफलता पाएका छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकपलाई आधार मान्ने हो भने त्यस्ता थुप्रै खेलाडीहरुको सूची भेटिन्छ। तर, ती मध्ये कतिपय त्यस्ता खेलाडीहरु छन् जसको नाता फिफा विश्वकपसंग अटुट रुपमा जोडिएका छन् । अनि जसको ब्यक्तिगत कुशलताले सिंगो टिम र राष्ट्रलाई फिफा विश्वकप दिलाउन सफल भएका छन। त्यस्ता केही विश्वविख्यात ‘की प्लेयर्स’को संक्षिप्त चर्चा यहाँ प्रस्तुत गरिएको छ ।

एड्सन अरान्टेस डो नासीमेन्टो (पेले)

अहिले लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो मध्ये उत्कृष्ट को भनेर अड्कलबाजी हुने गरेको छ। तर, विश्वकपलाई आधार मान्ने हो भने ब्राजिलका लेजेन्डरी फुटबलर पेलेलाई यी दुवैले माथ दिन नसकेको देखिन्छ ।

फुटबलमा ुकालो हिराु को उपमा पाएका पेलेलाई वास्तवमा फुटबल खेल्न र विश्वकप जित्नका लागि नै जन्मेका ब्यक्तिका रुपमा चिनिन्छ । उनी फुटबलमा “बाई साइकल किक“ मार्फत् गोल गर्ने विज्ञका रूपमा परिचित छन् । उनी गोलको अवसर सिर्जना गर्न पोख्त हुनुका साथै डेड बलका बिशेषज्ञका रूपमा समेत परिचित छन् । अचुक तथा शक्तिशाली बल प्रहार गर्ने क्षमताका कारण उनी बिपक्षी गोल रक्षकहरुमाथि सधै मनोबैज्ञानिक दवाब दिन सफल हुन्थे ।

१७ बर्षको कलिलो उमेरमै सन् १९५८ को विश्वकप फाइनलमा दुई गोल गर्दै ब्राजिललाई उपाधि दिलाएका पेलेले ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए । पेले त्यस्ता एक्ला खेलाडी हुन् जसले आफ्नो सक्रिय खेल जीवनमा आफ्नो राष्ट्रलाई तीन पटकसम्म विश्वकप उपाधि दिलाउन प्रमुख भूमिका निर्वाह गरेका थिए ।

स्ट्राइकर र आक्रामक मिडफिल्डर पेलेले सुरुमा ब्राजिलको सान्तोस क्लबबाट सन १९५६ देखि १९७४ सम्म खेलेका थिए। त्यस्तै अमेरिकाको न्यू योर्क कसमसमा १९७५ देखि १९७७ सम्म आबद्ध भएका थिए। उनले सक्रिय खेल जीवनको ९२ अन्तर्राष्ट्रीय खेलमा ७७ गोल गरेका थिए । सन १९५८, १९६२, १९६६ र १९७० मा गरी चार विश्वकपको अनुभव बटुलेका उनले १४ खेलमा १२ गोल गरेका थिए।

डिएगो अर्मान्डो म्याराडोना

पेले र डिएगो म्याराडोनाबीच पनि को उत्कृष्ट भनेर विवाद हुने गरेको छ । यी दुई खेलाडी आ-आफ्नै समयका उत्कृष्ट फुटबलरहरु हुन् । नतिजालाई आधार मान्ने हो भने दुवैजनाले विश्वकपको चार संस्करण खेलेका छन्। जसमध्ये पेलेसहितको ब्राजिलले तीन पटक उपाधि जितेको छ भने म्याराडोना सहितको अर्जेन्टिना एक पटक मात्र विश्व च्याम्पियन भएको छ । यस अर्थमा पेले अगाडी रहेको मान्न सकिन्छ ।

होचा कदका म्याराडोना बल ड्रिब्लिंगमा पोख्त हुनुका साथै अचुक प्रहारमा गोल गर्न समेत माहिर थिए । मैदानको हरेक कोणमा प्राप्त बलबाट अवसर सिर्जना गर्न उनी सिपालु थिए । तीब्र गतिमा पनि बललाई चुम्बक सरह आफ्नो नियन्त्रणमा राख्ने खूबीका कारण नै उनको क्रेज अझै पनि विश्वभरि सम्झिने गर्दछ ।
उनी १७ बर्षको हुँदा नै सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकप फुटबल प्रतियोगितामा राष्ट्रीय टोलीमा बोलाइएका थिए ।

तर, प्रशिक्षक लुइस मेनोत्तीले उनलाई फेरि फिर्ता पठाएका थिए । सन् १९८२ मा विश्वकपमा भने उनले डेब्यू गरेका थिए । त्यसको चार वर्षपछि भने उनले आफूलाई प्रमाणित गर्न कुनै कसर बांकी राखेनन् । सन् १९८६ को मेक्सिकोमा सम्पन्न विश्वकपमा आफ्नो विलक्षण क्षमताको भरमा उनले आफ्नो राष्ट्रलाई दोस्रो पटक विश्वकपको उपाधि दिलाएका थिए । त्यतिबेला इंग्ल्याण्डबिरुद्ध उनले हातले गरेको गोल अहिलेसम्म चर्चित छ ।

सोही खेलमा उनी एक्लैले इंग्ल्यान्डका पाँचजना खेलाडीहरुलाई छक्याउँदै गरेको गोलको लोकप्रियता अहिलेसम्म कायमै छ । उनले गरेको उक्त गोल विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट गोल मध्येमा पर्छ । खेल जीवनको अन्त्यतिर उनी थुप्रै विवादहरुमा मुछिएका थिए । लागू औषध सेवन तथा उग्रब्यवहारका कारण उनले आफ्नो गर्बिलो छविलाई धमिलो बनाएका थिए ।

उनी सन् २०१० मा अर्जेन्टिनाको प्रमुख प्रशिक्षक रूपमा दक्षिण अफ्रीका पुगेका थिए। तर, त्यहाँ उनको टोलीले वाहवाही बटुल्ने प्रदर्शन भने गर्न सकेन ।
आक्रामक मिडफिल्डर म्याराडोनाको क्लब करियर कुरा गर्नुपर्दा उनले अर्जेन्टीनोस जुनियर्सबाट सन १९७८ देखि १९८० सम्म खेलेका थिए ।

त्यस्तै बोका जूनियर्सबाट (१९८१-८२), बार्सिलोना (१९८२-८४), नेपोली (१९८४-९१), सेभिया (१९९२-९३), न्युवेल्स ओल्ड बोयज (१९९३-९४) र अन्तमा बोका जूनियर्सबाटै १९९५ देखि १९९८ खेलेर सन्यास लिएका थिए । त्यसक्रममा उनले अर्जेन्टिनाबाट ९१ अन्तर्राष्ट्रीय म्याच खेल्दै ३४ गोल गरेका थिए । सन् १९८२, १९८६, १९९०, १९९४ गरी चार विश्वकप खेलेका उनले २१ खेलमा ८ गोल गरेका थिए ।

जिनेदिन यजीद जिदान

सन् १९९८ विश्वकप फुटबलका आयोजक फ्रान्सलाई घरमै उपाधि दिलाउँदा नायक बनेका थिए जिनेदिन जिदान । हाल स्पेनिस क्लब रियल मेड्रिडका सफल प्रशिक्षकका रुपमा समेत स्थापित छन् । सन् १९९८ विश्वकप फाईनलमा ब्राजिलबिरुद्ध दुई गोल गरेका जिदानको खेल कौशल वास्तवमै उच्च श्रेणीको थियो । मैदानमा आक्रामक मिडफिल्डको भूमिकामा खेल्ने उनी स्ट्राइकरहरुलाई सहज स्थानमा बल उपलब्ध गराउन माहिर थिए ।

कलात्मक तरिकाले दुवै खुट्टाले बल छक्याउन समेत उनी सिपालु थिए । सन् २००० को यूरोकपको उपाधि समेत आफ्नो राष्ट्रलाई दिलाउँदा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । यति हुंदाहुदै पनि सन् २००६ को जर्मनी विश्वकप उनको लागि बिर्सनलायक बन्यो । इटालीविरुद्धको फाइनलमा इटालियन रक्षक मातेराजीलाई छातीमा टाउकोले हानेर उनी रातो कार्डका सिकार भएका थिए । उक्त खेलपछि आफ्नो गर्बिलो करियरमा तीतो अनुभव संगाल्दै उनले सक्रीय खेल जीवनबाट सन्यास लिएका थिए ।

जिदानले कान्नेसबाट क्लबस्तरीय प्रतियोगितामा डेब्यू गरेका थिए । सन १९८८ देखि १९९२ सम्म सोही क्लबमा बिताएका उनले त्यसपछि बौर्डीओक्समा (१९९२-९६), युभेन्टसमा (१९९६-०१), रियल मेड्रिडमा (२००१-०६) सम्म खेलेका थिए। उनले फ्रान्सको राष्ट्रिय टोलीबाट १ सय ८ खेलमा ३१ गोल गरेका छन । त्यस्तै १९९८, २००२ र २००६ को विश्वकप खेलेका उनले १२ खेलमा ५ गोल गरेका थिए।

रोनाल्डो लुइस नजारियो डे लिमा

सन् १९९४ देखि २००२ सम्म १२ बर्षको अन्तरालमा ब्राजिलले लगातार तीन पटक विश्वकपको फाइनल खेलेको थियो । जसमध्ये दुई पटक ब्राजिल च्याम्पियन समेत बन्यो । ब्राजिल तीनै पटक विश्वकपको फाइनल पुग्दा टीममा सम्मिलित थिए रोनाल्डो । सन् १९९४ को विश्वकपमा बेन्चमै बिताएका उनले सन् २००२ को विश्वकप उपाधि आफ्नो राष्ट्रलाई दिलाउन प्रमुख भूमिका खेलेका थिए ।

ब्राजिललाई कीर्तिमानी पांचौं पटक विश्वकप दिलाउने क्रममा जर्मनीलाई २–० ले पराजित गर्दा दुवै गोल उनले गरेका थिए । त्यसअघि सन् १९९८ को फ्रान्समा सम्पन्न विश्वकपमा पनि ब्राजिललाई फाइनलसम्म पुर्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनी सम्मिलित ब्राजिल पालैपालो गरी कीर्तिमानी चौथौ र पाँचौ पटक विश्वकपको उपाधि जित्ने पहिलो टोली बनेको थियो । ब्राजिलमा सम्पन्न विश्वकपमा मिरोस्लाभ क्लोजले कीर्तिमानी १६ गोल गर्नुअघि सर्वाधिक १५ गोलको रेकर्ड रोनाल्डोकै नाममा रहेको थियो ।

स्ट्राइकरको भूमिकामा अब्बल रोनाल्डोले सन १९९३ मा क्रुजीएरो क्लबबाट करियरको सुरुवात गरेका थिए । १९९४ सम्म त्यही रहेका उनले पिएसभि आइन्डहोभेनबाट (१९९४-१९९६), बार्सिलोनाबाट ९१९९६(९७०, इन्टर मिलानबाट (१९९७-२००२), रियल मेड्रिडबाट (२००२-०७), एसी मिलानबाट (२००७-०८) र कोरिन्थियन्सबाट (२००९-११) सम्म खेलेका थिए। ब्राजिलको जर्सीमा ९८ म्याच खेलेका उनले ६२ गोल गरेका थिए । १९९४, १९९८, २००२, २००६ गरी चार विश्वकपको अनुभवी रोनाल्डोले १९ खेलमा १५ गोल गरेका थिए।

मानुएल फ्रान्सिस्को डस सान्तोस (गरिन्चा)

जन्मेदेखि नै दायाँ खुट्टाको तुलनामा बायाँ खुट्टा सानो भएता पनि गरिन्चा आफ्नो कलात्मक फूटबल खेल कौशलका लागि प्रख्यात थिए । उनलाई बल ड्रिब्लिंगमा कुशल तथा प्राप्त मौकामा गोल गर्न खप्पिस खेलाडी मान्निथ्यो । सन् १९६२ को विश्वकपमा ब्राजिलका सर्वकालीन महान् खेलाडी पेले घाइते हुंदा गरिन्चाको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले लगालग दोस्रो पटक विश्वकप जितेको थियो ।

सन् ६० को दशकमा पेले र गरिन्चाको जोडी सहितको ब्राजिलियन टोलीलाई हराउन अन्य टोलीहरुका लागि फलामको च्यूरा चपाउनु सरह मानिन्थ्यो । यिनै खेलाडीको नाममा ब्राजिलमा स्टाडियो नासियोनल डी ब्रासिलिया मने गरिन्चा रंगशाला नामाकंरण गरिएको छ ।

विंगर गरिन्चाले बोटाफागोबाट क्लब करिएरको सुरुवात गरेका थिए । सन १९५३ देखि १९६५ सम्म त्यहीबाट खेलेका उनले कोरिन्थियन्स (१९६६), पोर्तुगीज करिओका (१९६७), फ्लेमेन्गो (१९६८-६९) र ओलारिया (१९७२) बाट खेल्दै सन्यास लिएका थिए । ब्राजिलबाट ५० म्याच खेलेका उनले १२ गोल गरेका थिए । सन् १९५८, १९६२ र १९६६ मा गरी तीन विश्वकप खेलेका उनले १२ खेलमा ५ गोल गरेका थिए।

फ्रान्ज बेकेनबाउर

“डेल केसर“ अर्थात सम्राटको उपनामबाट परिचित छन् फ्रान्ज बेकेनबाउर । आफ्नो समयमा जर्मन टोलीका मेरुदण्ड नै थिए उनी । सन् १९७४ को विश्वकपमा जर्मन टोलीको प्रेरणादायी कप्तानको भूमिका तथा मिडफील्डमा उत्कृष्ट सूझबुझ भएका कारण नै जर्मनीले विश्वकप जितेको थियो । ुटोटल फुटबलु खेल शैलीमा पोख्त तथा उपाधिको दावेदार मानिएका नेडरल्यान्ड्सलाई पराजित गरी उपाधि जित्दा उनले महत्वपूर्ण भूमिका निभाएका थिए ।

खेलाडी छँदा जर्मनीलाई विश्वकप उपाधि दिलाएका उनले १९९० मा पनि प्रशिक्षकको भूमिकामा पनि जर्मनीलाई तेस्रोपटक विश्वकप दिलाएका थिए । त्यसअघि सन् १९८६ को मेक्सिकोमा सम्पन्न विश्वकपमा पनि उनको प्रशिक्षणमा रहेको जर्मनी उपविजेता बनेको थियो । उनी खेलको अवस्था बुझेर सोही अनुरूप खेल्न माहिर मानिन्छन् । उनी रक्षक, मिडफील्डर र स्ट्राइकिंग सबै भूमिकामा पोख्त थिए ।

जर्मन मिडफील्डर बेकेनबाउरले बायर्न म्यूनिखबाट क्लब करियरको सुरुवात गरेका थिए। १९६४ देखि १९७७ सम्म त्यही बिताएका उनले त्यसपछि न्यूयोर्क कसमस (१९७७-८०), हामबर्गर एसभि ९१९८०-८२०, न्यू योर्क कसमस (१९८३) हुँदै सक्रिय खेलाडी जीवनलाई पूर्णविराम लगाएका थिए । उनले जर्मनीको राष्ट्रिय टिमबाट १ सय ३ खेलमा १४ गोल गरेका थिए । सन् १९६६, १९७० र १९७० मा गरी तीन विश्वकपको १८ खेलमा ५ गोल गरेका थिए ।

रोबर्ट फ्रेडेरिक चार्ल्स (बबी मूर)

फुटबल खेलको जन्मदाता भनेर चिनिने राष्ट्र इंग्ल्याण्डले आफ्नै देशमा आयोजित सन् १९६६ को विश्वकप उपाधि जितेको थियो । त्यसताका टोलीका कप्तान थिए बबी मूर । मुख्य रक्षकको भूमिकामा मैदानमा उत्रिने तथा खेलको माग अनुसार आक्रामक मिडफिल्डरको भूमिका समेत निर्वाह गर्ने खूबीका कारण उनी आफ्नो समयमा लोकप्रियताको शिखरमा पुगेका थिए ।

विशेषगरी टोली नेतृत्वको भूमिकामा सफल रणनिति बनाउन माहिर थिए उनी । अनमार्क रहेकोआफ्ना साथीहरुलाई उपयुक्त स्थानमा बल उपलब्ध गराउन सिपालु थिए उनी। यही क्षमताका कारण नै उनी फुटबलका प्रेरणादायी कप्तानका रुपमा दरिएका थिए । उनी हेडिंगमार्फत बल खेलाउन पोख्त थिए ।

इंग्ल्याण्ड टिमका रक्षक मूरले १९५८ मा वेस्टह्याम यूनाइटेडबाट क्लब करियर सुरु गरेका थिए। १९७४ सम्म त्यही रहेका उनले त्यसपछि फुल्ह्याम (१९७४-७७), सान एन्टोनियो थण्डर ९१९७६०, सियाटल साउण्डर्स (१९७८), हेर्निँग फ्रेमाड (१९७८) बाट खेल्दै सन्यास लिएका थिए । इंग्लिश टिमबाट १ सय ८ म्याच खेलेका डिफेन्डर मूरले दुई गोल मात्र गरेका छन् । उनले १९६२, १९६६ र १९७० गरी तीन विश्वकपमा १४ म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्