बागमती प्रदेश प्रवेश गर्ने सवारीलाई अनिवार्य सेनेटाइज

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या निकै बढेको भारत र प्रदेश–२ बाट बागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने सवारीलाई अनिवार्य सेनेटाइज गर्न सुरु गरिएको छ । चुरियामाईमा सवारीसाधनलाई अटोमेटिक सेनेटाइज गरेपछि मात्र हेटौंडा भएर विभिन्न जिल्लामा जान दिइने भएको हो । हेटौंडाको उपमहानगरपालिका–१५ स्थित रातोमाटे प्रहरी चेकपोष्टमा सवारीसाधनका लागि सेनेटाइज टनेल राखिएपछि सेनेटाइज सुरु गरिएको हो ।

सवारीसाधनका लागि लक्षित गरेर राखिएको सेनेटाइजको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । उहाँ चढ्ने गाडी पहिलोपटक सेनेटाइज गरिएको थियो । प्रदेश–२ अन्तर्गत् बाराको जीतपुर सिमरा उपमहानगरमा कोरोना संक्रमित भेटिएसँगै बागमती प्रदेश सरकारले नाकाबाटै सुरक्षाको तयारी थालेको हो । सरकारले व्यबसायी र सामाजिक संस्थासँगको सहकार्यमा सेनेटाइज टनेल जडान गरेको हो ।

बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सेनेटाइज निर्माणमा मकवानपुर उद्योग वाणिज्य संघले संयोजन गरेको थियो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास दिनप्रतिदिन बढ्दै गएको र यसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न सवारीसाधनलाई सेनेटाइज गर्न सुरु गरिएको हो । प्रदेश सरकारको दुई लाख ७० हजार रुपियाँ लागतमा टनेल निर्माण गरिएको हो ।

सेनेटाइज टनेलभित्र सवारीसाधन प्रवेश ग।ेपछि आफैं मेसिन सञ्चालन हुने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । कीटनाशक झोलको सही तारिका तथा मात्रामा प्रयोग गर्दा भुईं, यातायातका साधन, छुने गरेका वस्तु, सामग्रीमा स्प्रे गर्दा सतहमात्र निसंक्रमण हुनेछ ।यसअघि रातोमाटेमा हेटौंडा उपमहानगरपालिकाले मानिसका लागि सेनेटाइज मेसिन जडान गरेको थियो ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारिक भएको बताएको छ । शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने विज्ञहरुले बताएका छन् ।उनीहरुका अनुसार शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश हँुदैन ।

भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा भइरहने भएकोले यसले कुनै अर्थ नराख्ने उनीहरुको दाबी छ ।शरीरमा छरिएको डिस्इन्फेक्टेन्टले आँखा, मुख, नाक आदिमा हानि गर्नुका साथै सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वासमा विभिन्न समस्या उत्पन्न हुनेछ ।