आपराधिक क्रियाकलाप घटेपछि कोरोना महामारी व्यवस्थापनमा केन्द्रित बन्दै प्रहरी

कोरोना संक्रमित मृतकको शव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

0
Shares

राम धामी,डडेल्धुरा।

कोरोना भाइरस संक्रमणको सन्त्रासका कारण सरकारले आह्वान गरेको लकडाउन अवधी लम्बिदै जाँदा डडेल्धुरामा अपराधिक कृयाकलापमा भने निकै कमि आएको छ । अपराधिक कृयाकलाप घटदै गएपछि कोरोना महामारी व्यवस्थापनमा केन्द्रित भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले लकडाउन अवधीभर जिल्लामा अपराधिक कृयाकलापहरु घटदै गएको बताए ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईमा दिनहुजसो घरेलु हिंसा, जर्बजस्ती करणी, कुटपिट, ठगी, चोरीजस्ता बिभिन्न अपराधिक कृयाकलापहरुको उजुरी दर्ता हुने गरेकोमा लकडाउन अवधीमा अपराधिक कृयाकलाप घटदै गएको उनले जानकारी दिए । पछिल्ला दिनहरुमा प्रहरीमा अपराधिक कृयाकलापसँग सम्बन्धि उजुरी दर्ता हुन छाडेको उनले जिकिर गरे ।

अपराधिक कृयाकलाप घट्दै गएपछि कोरोना महामारी रोकथाम तथा व्यवस्थापनका लागि प्रहरी केन्द्रित रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । कोरोना भाइरस संक्रमित ब्यक्तिको मृत्यु भएमा मृतकको शव व्यवस्थापन गर्ने सम्बन्धी तालिम सम्पन्न गरिएको डीएसपी न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये प्रहरी नायव निरिक्षकको कमाण्डमा १० जना प्रहरीको टोलीलाई कोरोना महामारी बिरुद्धको कार्य योजना र कोरोना संक्रमणबाट बन्दीगृहमा मृत्यु भएका मानिसहरुको शव ब्यवस्थापन गर्ने सम्बन्धि तालिम सम्पन्न गरिएको हो ।

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ, डडेल्धुरा अस्पतालका चिकित्सकहरु प्रहरी प्रमुख डीएसपी न्यौपानेले तालिमको सहजीकरण गरेका थिए ।
कोरोना महामारीबाट मृत्यु हुनेहरूको शव समयमै व्यवस्थापन गर्न नसके थप संकट सिर्जना हुनसक्ने भएकाले समयमै सतर्कता अपनाउन प्रहरीलाई सो विषयमा प्रशिक्षण दिइएको हो ।

“कोरोनाको महामारी बढ्दै गएमा प्रहरी उच्च जोखिममा रहने भएकाले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रहरीलाई यस विषयमा प्रशिक्षण दिइएको हो ।” डीएसपी न्यौपानेले भने । कार्यक्रममा सुरक्षितरूपमा शव व्यवस्थापनका लागि अपनाइनुपर्ने उपायबारे प्रस्तुतीकरण गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख श्रेष्ठले बताए ।

शव व्यवस्थापन गर्दा पीपीई लगाउने, शव बोक्ने सामग्री र सवारीसाधनलाई स्यानिटाइज गर्ने, परिवार तथा समुदायलाई टाढै राखेर शव व्यवस्थापन गर्नेलगायतका विषयमा डडेल्धुरामा कार्यरत प्रहरीकर्मीलाई प्रशिक्षण दिइएको हो । यसवाहेक जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पछिल्ला दिनहरुमा समुदायस्तरमा कोरोना महामारीबारे जनचेतना जगाउने र सरकारले जारी गरेको लकडाउनको प्रभावकारिता बढाउन विशेष भूमिका निर्वाह गरिरहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । उनले कोरोना महामारी रोकथाम, नियन्त्रण र व्यवस्थापनमा प्रहरीले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको बताए ।