महाभारतकालीन झल्को दिन मुर्ति

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

नेपालको धार्मिक इतिहासमा महाभारतकालीन समयको पनि असर देखिन्छ । छिमेकी र स्थलमार्गले जोडिएका कारण नेपाल र भारतका धार्मिक गतिविधि एकअर्को देशसँग जोडिनु नौलो कुरा रहेन । यस प्रसंगमा महाभारतका कथामा नेपाललाई पनि जोडिएको पाइन्छ ।

द्वापरयुगमा वार्णावतको लाक्ष्यगृहबाट सुरुङ खनेर जोगिएका पाण्डवहरु माता कुन्तीसहित साधु भेषमा हिँड्ने क्रममा हेडम्बासुर राक्षसको नगर आइपुगेको पौराणिक कथन छ । त्यही हेडम्बा नगर अपभ्रंश भएर हालको हेटौंडा बनेको विश्वास गरिन्छ ।

हिन्दुहरुको यही विश्वास मुर्तिमा अंकित गर्न मकवानपुरका बुद्धिष्ट युवा चार महिनादेखि आफ्नो शिल्पकला मुर्तिमा उतारिहनुभएको छ । हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाम आकर्षक धार्मिक पर्यटकीय गन्तब्य बनेको छ । बलशाली भीमसेनले हेडम्बासुरको वध गरी उनकी बहिनीसँग विवाह गरेका थिए ।

त्यही समयको झल्को दिने मुर्ति हेटौंडा उपमहानगरपालिकाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा निर्माण भइरहेको हो । मकवानपुरको सुकौराका हर्कबहादुर भुलुन चार महिनादेखि मुर्ति निर्माण गर्न ज्यावल चलाइरहनु भएको छ । ललितकला अध्ययन गर्नुभएका यी युवाले केही समय निजी क्षेत्रका मुर्तिकलाका ब्यबसायीसँग काम गर्नुभयो । हाल उहाँ आफैं मुर्ति निर्माण गरिरहनुभएको छ ।

पाँच पाण्डव, कुन्ती र हेडम्बाका दाजु र बहिनीको मुर्ति निर्माणका लागि हर्कबहादुरले विभिन्न धार्मिक पुस्तकमा छापिएका चित्र अध्ययन गर्नुभयो । विभिन्न दृष्य सामग्री, चलचित्र हेरेपछि त्यसभन्दा फरक नेपाली शैलीको कलात्मक मुर्ति निर्माण गरिएको उहाँको भनाइ छ ।

मुर्ति निर्माणका लागि हालसम्म ६ लाख खर्च भइसकेको त्रिवेणीधाम व्यबस्थापन समितिले जानकारी दिएको छ । हर्कबहादुरले बनाएका मुर्ति रहने स्थानको भित्तामा तत्कालीन समयको प्राकृतिक अबस्था झल्काउने चित्र उतारिहनुभएको कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समिति अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले बताउनुभयो ।

महाभारतमा आधारित किम्वदन्तीअनुसार पाँच पाण्डव वनबासको क्रममा हेटौंडा आइपुगेका र हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई तत्काल मारेकाले हेडम्बाबाट अपभ्रंश भएर हेटौंडा भएको हो भनिन्छ । हेडम्बाकी बहिनी भुटनदेवीको नामबाट स्थापित भुटनदेवी मन्दिर यस नगरको वडा–१० मा अबस्थित छ, जहाँ दैनिक पूजाआजा गरिनुका साथै यससँग सम्बन्धित पर्व पनि मनाइन्छ । महाभारतमा थुप्रै घटना, सम्बन्ध र ज्ञानविज्ञानका रहस्य समाहित छन् । महाभारतका हरेक पात्र जीवन्त छन्, चाहे ती कौरव हुन् वा पाण्डव, कर्ण हुन् वा कृष्ण, धृष्टद्युम्न, शल्य, शिखण्डी वा कृपाचार्य नै किन नहोऊन् ।