बेलायती समाजसेवामा नेपालीको उपस्थिति

बेलायतका चारै राज्यको एक संक्षिप्त रिपोर्ट

14
Shares

सञ्जयभक्त कँडेल, लन्डन ।

प्रथम विश्वयुद्धबाटै नेपालले वेलायतलाई सहयोग गर्दै आएको हो । नेपालीहरूले बेलायतलाई कर्मभूमि बनाएको पनि २०६ वर्ष पूरा भएको छ । अहिले बेलायतमा करिब ३ लाख नेपालीभाषी बसोबास गर्छन् । प्रथम विश्वयुद्धदेखि आज कोरोना (कोभिड–१९) सम्म बीचका विभिन्न अप्ठ्यारामा अंग्रेजसँगै सहकार्य गर्दै आफ्ना समाज संरक्षणका खातिर नेपालीले पु¥याएको योगदान प्रशंसनीय अनि अविस्मरणीय छ । अहिलेसम्म बेलायतमा कोरोन भाइरसको संक्रमणबाट ४९ नेपालीले ज्यान गुमाइसकेका छन् । ६ सय ८० नेपाली संक्रमित भएकोमा ५ सय २० ले स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् भने १ सय ६० नेपाली अझै पनि आइसोलेसनमा छन् । कोभिड–१९ बाट परेको असर र त्यसको व्यबस्थापन सम्वन्धमा यूकेका चारैवटा राज्यहरू क्रमशः इंगल्यान्ड, वेल्स, स्कटल्यान्ड र नर्दन आयरल्यान्डमा रहनुहुने नेपाली समाजका अगुवाहरु, एनआरएनए यूकेका प्रतिनिधिलगायतसँग यूकेका विभिन्न क्षेत्रमा बसोबास गर्ने सेना निवृत्त, वृद्ध, विद्यार्थी तथा कागजपत्र नभएका तथा अवैधानिक नेपालीले नेपाली समाज तथा सामाजिक अभियन्तबाट के कस्ता सहयोग पाइरहेका छन् साथै बेलायत सरकारका कि–वर्कर तथा बेलायती समाजलाई नेपालीले गरेका सहयोगको सामान्य छलफलका आधारमा तयार पारिएको नेपाल समाचारपत्रको यूके बिशेष ।

नेपाली संघसंस्थाले के–के गरे त ?

सबै नेपाली समाजले आफ्ना वरपर र जानकारीमा आएकालाई सहयोग गरेको छ त्यसमा पनि मर्जिङ नेपसक्स र ग्रेटर नेपाली समाजको भूमिका प्रशंसनीय छ । मर्जिङ नेपसक्सका अध्यक्ष पवन कँडेलका अनुसार आधिकारिक रुपमा संस्थाबाट ८३ जना विद्यार्थीले आर्थिक सहयोग र १९ विद्यार्थीले खाद्यान्न सहयोग बुझेका छन ।

ग्रेटर नेपाली समाज रिडिङले कोभिड–१९ सोलिडारिटी समूह नै गठन गरेर आपत्मा परेका र सम्पर्कमा आएका विद्यार्थीलाई खाद्यान्नलगायत घरभाडा तिर्न पनि सहयोग गरेको छ । रोयल बक्सर हस्पिटलमा कार्यरत २ सय ५० स्वास्थ्यकर्मीलाई उनीहरुले निःशुल्क खाना वितरण गर्नुका साथै घर वाहिर निस्कन असमर्थ भएका नेपालीलाई आवश्यक सहयोग गरेको छ ।

क्याट (चितवन एड एन्ड ट्रस्ट) यूकेका अध्यक्ष जीवन सेनका अनुसार क्याट यूकेले पनि विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगमा नेपाली समुदायलाई आवश्यक सहयोग गरिरहेको छ । एनआरएनए इंगल्यान्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठले पनि सर्वसाधारणबाट करिब ११००० संकलन गरी सो रकम एनआरएन र सम्बन्धित निकायसँग छलफल गरी अति आवश्यक क्षेत्रमा खर्च गर्ने समितिको तयारी रहेको जानकारी गराए ।

एनआरएन, वेल्स राज्य परिषद्का अध्यक्ष कृष्ण भण्डारीका अनुसार वेल्समा १५०० नेपाली छन् । त्यहाँ त्यस्तो दुखद घटना भने घटेको छैन तर पनि विपद् व्यवस्थापनको तयारी भइसकेको छ । साथै नेप्लिज समाज वेल्सले त्यस क्षेत्रको फुड बैंकमा सहयोग पनि गरिरहेको छ ।

एनआरएनएका उपाध्यक्षहरू प्रेम गाहा मगर, नारायण कँडेल, मोहन कार्की, रामचन्द्र पोख्रेलसँग गरिएको टेलिफोन संवादमा सवै नेपालीलाई सहयोगको व्यवस्था मिलाइएको र अस्पतालमा कार्यरत तथा कि–वर्करलाई नेपाली समुदायले राम्रै सहयोग गरिरहेको जानकारी प्राप्त भएको छ । उहाँहरु क्रमशः इंगल्यान्ड, वेल्स, स्कटल्यान्ड र आयरल्यान्ड क्षेत्रमा बसोबास गरिरहेका छन् ।

गत हप्ता मात्रै भट्टराई एन्ड को इमिग्रेसन प्राक्टिसका सञ्चालक सोलिसिटर दीपक भट्टराईले आपत्मा परेका विद्यार्थीलाई २००० सहयोग गरेका थिए । त्यसै गरी मनकामना स्टोरका प्रोपाइटर तथा स्वास्थ्यकर्मी राजन खकुरालले पनि करिव १००० पाउण्ड बरावरको स्वास्थ्य सामग्रीहरु सिटामोल, स्यानिटाइजर, मास्क वितरण गरे ।

रेस्टुरन्ट व्यवसायीले के गरे ?

होली काउका निर्देशक तथा एनआरएनए पूर्वउपाध्यक्ष कुल आचार्यले एनएचएसलगायत बेलायती सेवामा कार्यरत कि–वर्करमध्ये ३ सय जनालाई निःशुल्क नेपाली खाना वितरण गर्नुका साथै उनले आपत्मा परेका जोकोही नेपालीलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

मेक्सिकन टेक्समेक्स बार एन्ड ग्रिल, स्कटल्यान्डका प्रोपाइटर मोहन कार्कीले हस्पिटलमा कार्यरत सयौ कर्मचारीलाई निःशुल्क खाना वितरण गरेको र बेलायतमा कार्यरत कि–वर्करको (प्रहरी, एम्वुलेन्स, दमकल) हौसला बढाउन उनीहरूलाई थप सहयोगको तयारी गर्दैछन ।

उनी हप्तामा २ दिन यूके एनएचएसमा ब्लड बाइक राइडरका रूपमा स्वयमसेवकको हैसियतले लामो समयदेखि सहयोग गरिरहेका छ्न ।
त्यस्तै अर्का समाजसेवी तथा वेलिफ रेस्टुरन्टका प्रोपाइटर विष्णु खरेलले पनि खाना र अन्य सहयोगबाट १००० पाउन्ड बराबरको योगदान बेलायती समाजलाई गरेका छन् ।

नेपाली कम्युनिटी नर्दन आयरल्यान्डका अध्यक्ष बलबहादुर थापाले पनि यस विषम परिस्थिमा कार्यरत लगभग ३०० कि–वर्करलाई निःशुल्क खाना वितरण गरे । साथै अप्ठ्यारामा परेका विद्यार्थीलगायतलाई समाजले सहयोगका तयारी गरिरहेको जानकारी गराए ।करिब ५०० नेपाली बस्ने मिडल्यान्डले पनि यो महामारीसंग संघर्ष गरिरहेका स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरिरहेको छ ।

गोर्खा स्पाइसका सञ्चालक तथा साझा समाजका पूर्वअध्यक्ष महेश अधिकारीका अनुसार गोर्खा स्पाइस, गोर्खा–९१ ले पिटरवरो र मार्च वरपरका हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गर्नुका साथै अप्ठ्यारामा परेका नेपालीलाई सहयोग गरिरहेको छ ।
}
खाना र पैसा तथा अन्य स्वास्थ्य सामग्रीको अलावा पासापुचः गुठी यूकेका पूर्वअध्यक्ष कुमार श्रेष्ठ र पासापुचः साउथ इस्ट, यूकेका अध्यक्ष तथा प्रतिभा नक्षत्रका महासचिव सुशील प्रजापतिले क्विन एलिजावेथ अस्पताल, लन्डनको परिसरमा स्वास्थ्यकर्मीको हौसला बढाउन परम्परागत नेवारी धिमे बाजा बजाएका थिए जसको चौतर्थी चर्चा भएको थियो ।व्यक्तिगत तवर अनि व्यवसाय र सामाजिक संघसंस्थाबाट यस महामारीका लागि वेलायत र नेपाली दुवैका लागि नेपालीहरुको सहयोग र भूमिका प्रशंसनीय छ ।