पास विनाका सवारी साधन पक्राउ गर्न कञ्चन गाउँपालिकाको अपिल

0
Shares

यमलाल भुसाल,बुटवल । 

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि कञ्चन गाउँपालिका भित्र पास विनाका सवारी साधनलाई पक्राउ गर्न सुरक्षा निकायलाई अपिल गरेको छ । गाउपालिका भित्र लकडाउनको उल्लंघन गर्दै पास बिना निजी सवारी साधनहरु र अन्य मानिसहरु समेत आवत जावत भैरहेको भन्दै लकडाउनको पुर्ण पालना गर्न गराउन कञ्चनवासीमा बिशेष अनुरोध पनि गरेको छ ।

पछिल्लो समयमा कञ्चन गाउपालिका भित्रका र छिमेकी पालिकाहरुवाट समेत बिशेष पास बिनाका निजी सवारी साधनका गाडी तथा मोटरसाइकल र साइकल निर्वाद रुपमा संचालन हुदै आइरहेको छ । जसले गर्दा कोरोना संक्रमणको जोखिम उच्च रहने ठहर गर्दै शनिवार प्रतिपक्षी दलहरुले लकडाउनलाई कडाइका साथ लागु गर्न भनि गाउपालिकामा ध्यानाकर्षण गराएका थिए ।

यस्तै छिमेकी पालिकाहरु गैडहवा,सैनामैना र छिमेकी जिल्ला कपिलबस्तुको बाणगंगा नगरपालिकाहरुबाट निजी ट्याक्टर,मोटरसाइकल,जेसिभी लगायतका सवारी साधनहरु बिना अनुमती कञ्चन गाउपालिका भित्र आवत जावत गरिरहेको सन्र्दभलाई मध्यनजर गर्दै सवारी साधनहरुको आवागमनलाई पुर्ण रुपमा बन्देज लगाईएको अपिलमा उल्लेख गरिएको छ ।

कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीद्धारा हस्ताक्षरित अपिलमा नेपाल सरकारले घोषणा गरेको लकडाउन पुर्ण रुपले पालना गर्नु पर्ने र अत्यावस्यक कामको लागि अनिवार्य सवारी पास लिई मात्र हिड डुल गर्न र सवारी पास नलिइ हिडेका सवारी साधन सुरक्षा निकायबाट जफत गरिने उल्लेख गरिएको छ ।