विन्धबासिनीद्वारा पत्रकार महासंघलाई सहयोग

0
Shares

न्युज अफ नेपाल,काभ्रे ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई जिल्लामा रहेको सबै भन्दा धेरै सदस्यहरु आवद्ध एशियाली मापदण्डको सहकारी विन्धबासिनीले कोरोना भाईरस रोकथाममा निरन्तर कार्यक्षेत्रमा खटिने संचारकर्मीहरुका लागि अत्यावश्यक सामाग्री खरिदका निमित्त आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सहकारीका अध्यक्ष अध्यक्ष प्रदिप थापा, सचिव रामशरण भण्डारी, कोषाध्यक्ष शान्तराज श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत केवी लामा स्याङ्गतानको टोलीले नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, सचिव नगेन्द्र अधिकारी र कोषाध्यक्ष कपिल कोईरालालाई ३० हजारको चेक हस्तान्तरण गर्नु भएको थियो ।

अध्यक्ष थापाले संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत महामारी रोकथामका लागि नागरिकहरुलाई सचेतना गराउने भूमिकामा सक्रिय संचारकर्मीहरुको स्वास्थ्यलाई ध्यान दिदै सहयोग गरेको बताउनु भयो ।

सचिव रामशरण भण्डारीले सहकारीले संचारकर्मीहरुका साथै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई प्राथमिकतामा राखेको बताउनु भयो । कोषाध्यक्ष शान्तराज श्रेष्ठले मुलुकनै संकटमा परेका बेला संचारकर्मीहरुलाई थोरै सहयोग गर्ने उदेश्यले सहकारीको सामाजिक उत्तरदायित्व कोषमा विनियोजन भएको रकमबाट सहयोग गरेको बताउनु भयो ।

प्रमुख कार्यकारी अधिकृत केवी लामाले संचारकर्मीसँगै जिल्ला विपद ब्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री, जिल्लामा रहेका १३ वटै स्थानीय तहहरु मध्ये १० वटा स्थानीय तहमा गाउँपालिकामा ४० हजार र नगरपालिकाहरुमा ५० हजार रुपैया विपद कोषमा सहयोग उपलब्ध गराएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले प्राप्त रकमको सदुपयोग गर्दै संचारकर्मीहरुका लागि अत्यावश्यक सामाग्री खरिद गरी वितरण गर्ने बताउनु भयो । यस अघि बनेपामा रहेको पब्लिक सुत्रधार सहकारीले ५० पिस माक्स उपलब्ध गराएको छ ।

प्रवन्ध संचालक विधान जोशीले पत्रकारहरुका लागि रियुज गर्न मिल्ने माक्स उपलब्ध गराउनु भएको हो । महासंघकै लागि प्रेस संगठन ललितपुरमा कार्यरत बाग्मती प्रदेश सदस्य रामहरी कार्कीले ५ थान ज्याकेट उपलब्ध गराउनु भएको छ । क्लिन सिटी मार्फत नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई १ हजार ५ सय माक्स उपलब्ध गराएको थियो काभ्रे उद्योग बाणिज्य संघले ३० थान स्यानीटाईजर उपलब्ध गराएको थियो ।

पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रोवेन तौजलेले २० थान ज्याकेट, बनेपा हेल्थ केयर प्रालीले ५ थान स्यानीटाईजर र १५ थान माक्स उपलब्ध गराएको छ । अन्र्तराष्ट्रिय काभ्रे सेवा समाज तथा काभ्रे सेवा सामाज काभ्रेबाट ५०/५० थान माक्स र स्यानीटाईजर उपलब्ध गराएको छ । अध्यक्ष तिमल्सिनाले कार्यक्षेत्रमा निरन्तर खटिने संचारकर्मीहरुका लागि अत्यावश्यक सामाग्री अभाव हुन नदिएको बताउनु भयो ।

संचारकर्मीहरुका अलावा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पत्रपत्रिका वितरण गर्ने वितरकहरु तथा केहि संचारकर्मीहरुका लागि खाद्यान्न सहयोग गरेको छ । १५ जना वितरक र केहि संचारकर्मीहरुलाई खाद्यान्न अभाव भएकाले सहयोग उपलब्ध गराएको सचिव नगेन्द्र अधिकारीले जानकारी दिनु भयो ।