रुपन्देही,
प्रदेश नं ५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेटिएपछि नागरिकमा त्रास कम गर्न सतर्कता बढाइएको हो ।
बन्दाबन्दीबीच रुपन्देहीका कोरोना संक्रमित युवक भारतबाट सहजै आएपछि प्रदेशका सिमानामा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवराज पोखरेलले जानकारी दिनुभयो । “अहिले कोही पनि आवतजावत गर्न नमिल्ने गरी सीमा नाका पूर्ण रुपमा बन्द गरिएको छ”, प्रनाउ पोखरेलले भन्नुभयो ।
प्रदेशका सबै जिल्लामा सुरक्षा समितिको बैठक बसेर सुरक्षा सतर्कता बढाउने निर्णयसमेत गरिएको उहाँले बताउनुभयो । प्रवक्ता पोखरेलले प्रहरीले बन्दाबन्दीको पूर्ण पालनाका लागि विशेष निगरानी गरेको जानकारी दिनुभयो । “सबै ठाउँमा प्रहरीले हेर्न भ्याउने अवस्था छैन, नागरिक आफैँ सचेत भएमा लकडाउनको पालना हुने हो” -उहाँले भन्नुभयो-“ यस समयमा सबै मिलेर कोरोनाको जोखिम कम गर्नुपर्छ ।”, दिल्लीको गान्धीनगरमा सिलाइकटाइको काम गर्दै आएका ती व्यक्ति यही वैशाख १ गते दिल्लीबाट हिँडेका थिए । वैशाख ५ गते दिउँसो १ बजे ठोठरी नाका आइपुगेका युवक सीमा नाका सुनसान देखेपछि सहजै नेपाल प्रवेश गरेका थिए ।
घर पुग्नुअघि युवकलाई परिवारका सदस्यले बाटामा भेटी क्वारेन्टाइन पु¥याएका थिए । जिल्ला स्वास्थ्य कार्यालयले युवकको स्वाब संकलन गरी जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि बुटवलस्थित आइसोलेशनमा भर्ना गरिएको छ । दुवै देशमा बन्दाबन्दी भएका समयमा कोरोना संक्रमित युवक सहजै नेपाल प्रवेश गरेपछि रुपन्देहीमा त्रासको वातावरण सिर्जना भएको छ । दक्षिणी क्षेत्र मर्चवार, लुम्बिनीलगायत स्थानमा कोरोनाको त्रास बढेको लुम्बिनी–१० का घनश्याम गुप्ताले बताउनुभयो ।
“बन्दाबन्दीमा पनि सजिलै यहाँ आउन मिल्ने भएपछि अरु पनि नआउलान् भन्न सकिएन, हामी सिमाना नजीकै रहेकालाई झन् डर भयो ”, उहाँले भन्नुभयो । एकै पटक धेरै संख्यामा कोरोना भेटिएपछि रुपन्देहीसहित प्रदेशका सबै जिल्लामा सुरक्षा सतर्कता कडा बनाइएको छ । प्रदेश नं ५ मा पहिलो पटक रुपन्देहीको कोटहीमाई र बाँकेको नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
कोटहीमाई – १ का २५ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएपछि बुटवलस्थित कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । यस्तै बाँकेमा पनि १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै थप सजगता अपनाइएको छ । यहाँका नागरिकले आफ्ना घर, टोल र वडा तहमा बाहिरी व्यक्तिलाई प्रवेश निषेध गरेर सुरक्षित हुने उपाय अवलम्बन गरेका छन् ।
नेपालगञ्ज– १ धम्बोझीको सर्वपक्षीय भेलाले वडालाई बन्द गर्ने निर्णय गरे उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । छिमेकी वडामा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि वडा नं ७ र ९ का बासिन्दा त्रसित छन् । संयमित र सतर्क भई घरमै सुरक्षित रहन वडावासीलाई आग्रह गर्दै वडामा बाहिरी व्यक्तिको आवागमन हुन नदिन निगरानी गरिएको वडा नं ९ का वडाध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो ।
आइतबार अपराह्न ९ र राति ६ गरी एकै चोटि १५ जनामा कोरोना देखिएसँगै नेपालगञ्जवासीमा त्रास देखिएको छ । उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमित भेटिए पनि आतङ्कित नभई नगरवासीले धैर्य गर्नुपर्ने बताउनुहुन्छ ।
बन्दाबन्दीको पूर्ण पालना गर्दै सुरक्षित साथ घरमा बस्न उहाँको आग्रह छ । उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्यकर्मीको टोली, प्रहरी प्रशासन र नगरपालिकाले गर्नुपर्ने काम गरिरहेको जनाउँदै सुरक्षितसाथ घरमै बस्न र बन्दाबन्दीलाई पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । आइतबारसम्म नेपालगञ्जमा सङ्क्रमित १६ पुगेका छन् ।
आइतबार मात्रै १५ जना थपिएका छन् । त्यही समूहका अझै केहीको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बाँकी स्वाबको आज रिपोर्ट आउने छ । भेरी अस्पताल नेपालगञ्जमा शनिबार स्वाब लिइएका ९० मध्ये १५ जनामा कोरोना देखिएको छ ।
यही वैशाख १७ गते मस्जिदमा स्वाब लिइएका ६० वर्षीयमा शुक्रबार कोरोना देखिएपछि उहाँको सम्पर्कमा रहेका व्यक्तिको स्वाब लिइएको थियो । आइतबार थप चार जनाको स्वाब सङ्कलन गरिएको छ । आइतबार फेला परेका १५ जना सङ्क्रमितलाई कोरोना विशेष आइसोलशन अस्पताल खजुरामा उपचारका लागि भर्ना गरिएको छ ।
कोभिड–१९ का बिरामीका लागि खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसोलेशन विशेष अस्पताल तयार गरी उपचारको व्यवस्था मिलाइएको छ । उनीहरु सबैलाई राति करीब साढे १० बजेतिर अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
पहिलोपटक शुक्रबार एक ६० वर्षीय पुरुषमा सङ्क्रमण देखापरेपछि स्थानीय प्रशासनले आरटीपिसिआर यन्त्रबाट परीक्षण शुरु गरेको छ । नेपालगञ्जमा पहिलो पटक भेटिएका सङ्क्रमित पुरुषको सम्पर्कमा रहेकामध्येबाट सङ्कलित स्वाब परीक्षण गर्दा नयाँ सङ्क्रमित भेटिएका हुन् ।
उनीहरु सबै नेपालगन्ज–८ का बासिन्दा हुन् । नयाँ थपिएका सङ्क्रमितमा सात वर्षीया बालिकासहित सात महिला छन् । उनीहरुको उमेर सात, ३०, ४०, ५०, ५५, ५८ र ६० वर्ष छ । यसैगरी आठ पुरुषको उमेर १६, २१, ३२, ३४, ३४, ३६, ३७ र ५५ वर्ष छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले शनिबार सङ्कलित ९० स्वाबमध्ये ५५ जनाको मात्र नतिजा आइसकेको र बाँकी ३५ जनाको परीक्षणका क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार आइतबार थप चार जनाको सङ्कलन गरिएको स्वाबसहित अब ३९ नमूना परीक्षणको नतिजा आउन बाँकी छ ।











प्रतिक्रिया