नेचा–सल्यानवासीलाई राहत बाँड्न अध्यक्ष बास्तोला राजधानीमा व्यस्त

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

सोलुखुम्बु जिल्लाको नेचा–सल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोला अहिले आफ्नो पालिका होइन संघीय राजधानी काठमाडौँमा हुनुहुन्छ ।
झट्ट यो सन्दर्भ सुन्दा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनसँगै राहत वितरणलगायतका कामका लागि आफ्नै पालिकामा व्यस्त हुनुपर्ने जनप्रतिनिधि किन राजधानीमा भन्ने प्रश्न उठ्न सक्छ रु तर, अहिले उहाँ राजधानीमा रहेर पनि निकै व्यस्त हुुनुहुन्छ, त्यो पनि राहत वितरणमा ।

उपत्यकामा बसेर विभिन्न अस्पतालमा उपचार गराइरहेका, अतिविपन्न, असाहय, समस्यामा परेका विद्यार्थीलगायतका परिवारलाई राहत वितरण गर्न उहाँ केही दिन यता व्यस्त हुनुहुन्छ । उहाँसहितको टोलीले पछिल्लो केही दिनमा नेचा–सल्यानबासी ७९ परिवारको भान्छामा पाक्ने २ सय १६ जनालाई राहत वितरण गरेको छ ।

‘लकडाउनका कारण गाउँ फर्किन नसकेका र विभिन्न अस्पतालमा उपचार गराइरहेका लगायतको समस्यालाई ध्यानमा राखेर उहाँहरुको डेरामै पुगेर राहत वितरण गरेका छौँ,’ अध्यक्ष बास्तोलाले भन्नुभयो, ‘उपत्यकाका पेप्सीकोला, जोरपाटी, खोकना, कंलकी, बसुन्धरा, कपन, भक्तपुरको च्यामासिंह, सल्लाघारी, बालकोटलगायतका क्षेत्रमा बसोवास गर्ने नेचा–सल्यानवासीलाई राहत वितरण गरेका हौँ ।’

उहाँले राहत स्वरुप प्रतिपरिवार एक बोरा चामल, ३ जना सम्मको परिवारलाई २ केजी र सो भन्दा माथिको संख्यामा रहेको परिवारलाई ३ केजी दाल, खाने तेल र नुन उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले जिल्लामा पनि पालिकाका नौ सय परिवारलाई राहत वितरण गरेको जानकारी दिनुभयो । ‘त्योसँगै नियमित रुपमा औषधि सेवन गरिरहेका र दीर्घ रोगीहरु करीब चार सयलाई एक महिना भन्दा बढी पुग्ने गरी काठमाडौँबाटै औषधि लगेर निशुल्क वितरण गर्ने जस्ता कार्य पनि गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले एक पालिकाबाट अर्को पालिकामा आउने–जानेहरुको स्वास्थ्य जाँच गर्ने, उनीहरुको तथ्याङ्क राख्ने लगायतका कामलाई पनि प्रभावकारी रुपमा सञ्चालन गरेका छौँ ।

त्यसका लागि चार ओटै नाकामा हेल्थ डेक्स सञ्चालन गरेका छौँ । पाँच ओटा वडा रहेको नेचा–सल्यान गाउँपालिकामा २७ सय ४९ घर धुरी छन् भने १५ हजार पाँच सय जनसंख्या रहेको छ । करीब चार हजार जनसंख्या विदेश र पालिका बाहिर रहेको अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा सरकारले जारी गरेको लकडाउनको पालना गर्दै असाध्यै समस्यामा परेका र उद्धार गर्नै पर्ने पाँच सय बढी पालिकाबासीलाई उद्धार गरेको जानकारी दिनुभयो । ‘पहिलो चरणमा असाध्यै समस्यामा परेका पालिकावासीलाई हामीले निशुल्क उद्धार गरेका थियौँ ।

उहाँहरुलाई अनिवार्य रुपमा होम क्वारेण्टायनमा बस्न आग्रह गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘कोरोना संक्रमणको रोगथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले गाउँ फर्केका सबै नागरिकहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । यसरी उद्धार गरेर होम क्वारेण्टायनमा बस्नुभएका कसैमा पनि अहिलेसम्म समस्या देखिएको छैन । उहाँहरुको निगरानीका लागि हामीले स्वमसेवकको व्यवस्था गरेका छौँ ।’ उहाँले विदेशबाट आएका १९ जनाको र्यापिट टेस्ट गरेको र सबैको रिपोर्ट नेगेटिभ आएको पनि जानकारी दिनुभयो । ‘सुरुमा दश जनालाई क्वारेण्टायनमा राखेका थियौँ,’ बास्तोलाले भन्नुभयो, ‘अहिले हाम्रो पालिकामा क्वारेण्टायनमा राख्नु पर्ने विरामी छैनन् ।