गल्याङ नगरपालिकामा दोश्रो चरणमा राहत वितरण सुरु

0
Shares

भूपराज बस्याल,स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकामा दोश्रो चरणको राहत वितरण सुरु भएको छ । नगरपालिका भित्रका अति विपन्नहरुलाई छनौट गरी राहत वितरण गर्न आइतबार सुरु गरिएको हो । आइतबार गल्याङ नगरपालिका वडा नम्बर तीनमा राहत वितरण सुरु गरिएको छ । नगरप्रमुख भुपराज अधिकारीले वडाध्यक्ष महेश भट्टराईलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएपछि राहत वितरण सुरु भएको हो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले वास्तविक पीडितहरु सामु राहत पु¥याउने शिलसिलामा वडा नम्बर तीनबाट दोश्रो चरणको राहत वितरण सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले धेरै विपन्नहरु बजार क्षेत्र रहेको वडा नम्बर तीनमा रहेकाले यस ठाउँबाट नै राहत बाँडिएको बताउनुभयो । नगरप्रमुख अधिकारीले अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न नगरपालिका सधैं प्रतिबद्व रहेको बताउनुभयो ।

वास्तविक पिडीतहरुसम्म नगरपालिकाका जनप्रतिनिधिहरु नपुगेको भए खबर गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष महेश भट्टराईले वडा भित्र रहेका अति विपन्नहरुलाई छनौट गरी राहत बाँड्न सुरु गरिएको बताउनुभयो ।

उहाँले एक सय नौ परिवारका चार सय १९ जना लाई राहत वितरण गर्न लागिएको बताउनुभयो । अध्यक्ष भट्टराईले सबै विपन्नहरुलाई राहत बाँड्नका लागि नगरपालिका र वडा सधैं क्रियाशिल रहेको बताउनुभयो ।