मुख्यमन्त्रीद्वारा प्रदेशसभा भवन निरीक्षण,बागमतीको प्रदेशसभा जेठ पहिलो हप्ता

0
Shares

न्युज अफ नेपाल,हेटौंडा।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा भवनको निरीक्षण गर्नुभएको छ ।आइतबार प्रदेशको राजधानी हेटौंडा–१० मा रहेको प्रदेशसभा भवनमा सभा सञ्चालनका लागि भवनको अवलोकन गरिएको हो । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठले भौतिक दुरी कायम गरेर बैठक सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको थियो ।

कोरोना भाइरस संक्रमणको जोखिम कम गरी प्रदेशसभा सदस्यहरुलाई बस्ने व्यबस्था गरिने सभामुख श्रेष्ठले जानकारी गराउनुभयो । बजेट ल्याउने समय भएकोले प्रदेशसभा आह्वान गर्न जरुरी रहेकोले संसद् बोलाउने तयारीस्वरुप भवनको निरीक्षण गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।
सभामुख श्रेष्ठले जेठ पहिलो हप्तासम्म प्रदेशसभा बोलाउने तयारी भइरहेको बताउनुभयो ।

नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा प्रदेश सरकारले छलफल गरिरहेको छ । मुख्यमन्त्री पौडेलसँग आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियालगायत प्रदेशसभा भवन निरीक्षणमा जानुभएको थियो ।