दीर्घकालिन पुर्नस्थापना सरकारको ध्यान : मन्त्री भट्टराई

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

गत शुक्रबार फुङलिङमा अगलागी भएको घटना स्थलको अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अब दीर्घकालिन पुर्नस्थापना तथा पुर्न्निर्माणका लागि सरकारको उचित ध्यान जाने बताउँनु भयो ।

आइतबार ताप्लेजुङको सदरमुकाम फुङलिङमा आगलागीबाट पीडित परिवार र सरोकारवालासंग छलफल गर्दै मन्त्री भट्टराईले पीडित परिवारलाई सरकारले उचित ढंगको व्यवस्थापनमा ध्यान दिने बताउँनु भयो । ‘स्थानीय, प्रदेश र संघीय सरकार तपाँइहरुको पुर्नस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण कार्यमा तपाईहरुकै साथमा छ’मन्त्री भट्टराईले भने ।

मन्त्री भट्टराईले आपतकालिन राहात तथा पुर्नस्थापनाका लागि स्थानीय तह र स्थानीय सरोकारवालाबाट कार्य पूरा हुदैं आएकोले अब प्रदेश र संघीय सरकारको ध्यान दीर्घकालिन पुर्नस्थापना र पुर्न्निर्माणमा केन्द्रित हुने प्रतिवता व्यक्त गर्नु भयो । फुङ्लिङ नगरपालिकाको समन्वयमा जिल्ला बिपद् व्यवस्थापन समितिमार्फत क्षतिग्रस्त घर कुन प्रकार र बनौटका थिए भन्ने समग्र प्रतिबेदन तयार पार्न प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई निर्देशन दिनु भयो ।

प्राप्त भएको प्रतिबेदनमा आधारमा पीडित परिवारको दीर्घकालिन पुर्नस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको निर्माण कार्य अघि बढाउन सहज हुने मन्त्री भट्टराईको भनाई छ । मन्त्री भट्टराईले बिपद्बाट पीडित तथा प्रभावित परिवारलाइ एउटै मापदण्ड र प्रकृयामा समेटेर दिईने राहत तथा सहयोगका लागि नेपाल सरकारले गृहकार्य गरिरहेको समेत बाताउँनु भयो ।

राष्ट्रिय बिपद् जाखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले बारबार आगलागि लगायतका बिपद्बाट समस्या झेलिरहेको ताप्लेजुङका लागि अब फेरी यस्ता घटना दोहोरिन नदिन र पीडित तथा प्रभावित समुदायलाई कसरी व्यवस्थापन गर्ने भन्ने आधार तय गर्न आगलागीग्रस्त क्षेत्रको स्थलगत अवलोकन भएको बताउनु भयो ।

शुक्रराति फुङ्लिङ पुरानो बैंक लाईनस्थित ट्याक्सी स्टेन्ट छेउमा भएको आगलागिमा ८ वटा घर जलेर नष्ट भएका थिए भने २९ परिवारका १ सय २४ जना बिस्थापित भएका छन् । आगलागीबाट साढे ७ करोेड बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक प्रतिबेदन जिल्ला बिपद् व्यवस्थापन समितिले तयार पारेको छ ।