कतारमा कामदारलाई बासस्थान छाड्न दबाब

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

कतारमा कार्यरत् नेपाली कामदारहरुलाई रोजगारदाताले बासस्थान छाड्न दबाब दिएका छन् । कामदारलाई रोजगारदाताले बासस्थान छाड्न दबाब दिएको गुनासो विभिन्न माध्यमबाट नेपाली राजदुतावास दोहा कतारमा आएको हो ।

दुतावासले फेसबुकमार्फत् नेपाली कामदारहरुलाई कार्यस्थल छाड्न दबाब आएको गुनासो दुतावासमा आएकाले हाल बसिरहेको बासस्थान नछोड्न भनेको छ ।
दुतावासले स्वदेश फर्किने प्रक्रिया पूरा नभएसम्मका लागि खाने र बस्ने सुबिधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने भएकोले रोजगारदाताले उपलब्ध गराएको बासस्थान वा हाल बस्दै आएको बासस्थान कुनै हालतमा नछाड्न आग्रह गरेको त्यहाँबाट पत्रकार अनिल पराजुलीले बताएका छन् ।

दुतावासले बासस्थान छोड्न दबाब आए वा कुनै समस्या परे कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको हटलाइन नम्बर ४०२८०६६० मा सम्पर्क गर्न आग्रह गरेको छ ।

यसअघि कामदार र रोजगारदाता दुवैको हितलाई लक्षित गर्दै कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले १५ अप्रिलमा कामदारहरुको खाने र बस्ने सुबिधा कटौती गर्न नपाइने उल्लेख गरेको थियो । कतारमा करिब ३ लाख ५१ हजार नेपाली कार्यरत् रहेको बताइएको छ ।

कतार सरकारले कतारमा रहेका सम्पूर्ण नागरिक तथा आप्रवासी कामदारहरुलाई २६ जुलाईभित्र राष्ट्रिय ठेगाना दर्ता गरिसक्न आग्रह गरेको छ ।
मेट्रास–२ मार्फत् कतारमा रहेका सम्पूर्ण नागरिक तथा आप्रवासीलाई आफ्नो विवरण दर्ता गर्न आग्रह गरिएको हो । कतार सरकारले राष्ट्रिय ठेगाना दर्ता गर्न बाँकी रहेका सबैलाई जुलाई २६ भित्र विवरण दर्ता गर्न भनेको छ ।

दर्ता गरिएको आवाससहित विवरणमा कुनै फेरबदल गर्नुपर्ने भए सम्बन्धित व्यक्तिले मेट्रास–२ मार्फत् परिमार्जन गर्न सक्नेछन् । यसबारे कुनै जिज्ञासा भए आन्तरिक मन्त्रालयको सेवा केन्द्रहरुमा सम्पर्क गरी जानकारी लिन सकिनेछ । रमजानको महिना भएकाले विहान ९ बजेदेखि १ बजेसम्म र अन्य समयमा विहान ६ बजेदेखि १ बजेसम्म राष्ट्रिय ठेगानाबारे जानकारी लिन सकिनेछ ।

जानकारीका लागि १५ वटा सर्भिस सेन्टर र फोन नम्बर तोकिएको छ । मुसाइमिर (२३५०८८८), धायिन (२३५१२०५), औद्योगिक क्षेत्र (२३५११५१), अल खोर (२३५१२९९), शानमाल (२३५१९००), हमाद मेडिकल कर्पेशन (२३५०३८०), शाहान्या (२३५२८८८), उम्मु सुलाल (२३५१८२२) लाई सर्भिस सेन्टर तोकिएको छ ।

बाक्रा (२३५१०९०), दुखान (२३५३१३१), राययान (२३५०३३३), मेसाइड (२३५१००३) सुक वाकिफ (२३४०६०८), अनाइजा (२३५०४४४) र पर्ल कतार (२३४०४०४) लाई पनि तोकिएको हो । पायक पर्ने सर्भिस सेन्टरबाट थप जानकारी र सेवा लिन सकिनेछ ।

कतारमा बसोबास गर्ने सम्पूर्ण कतारी नागरिक, विदेशी नागरिक तथा वैधानिक व्यक्तिहरुले अनिवार्यरुपमा राष्ट्रिय ठेगाना दर्ता गर्नुपर्ने नयाँ व्यबस्था लागु भएपछि विवरण बुझाउनुपर्ने भएको हो । यसअघि कतारको आन्तरिक मामिला मन्त्रालयबाट जनवरी २८ मा राष्ट्रिय ठेगाना दर्ता गर्न नेपाली दुतावासलाई समेत अनुरोध गरिएको पत्रकार पराजुलीले पठाएको समाचार विवरणमा उल्लेख छ ।