फुङ्लिङमा आगलागी ,३३ परिवार विस्थापित

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

 ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी भएको छ । फुङ्लिङबजारको माथिल्लो रोडस्थित पूरानो बैंक लाइन ट्याक्सी काउन्टर क्षेत्रमा भएको आगलागीबाट आठ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । ।

शुक्रबार राती १० बजेबाट शुरु भएको आगलागी करिव अढाइ घण्टापछि फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । आठ घर आगलागीले नष्ट हुँदा पसल व्यवसाय सञ्चालन गर्दै आएका समेत करिव ३३ परिवार विस्थापित भएका प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यद्यपि यथार्थ विवरण भने आउन बाँकी नै रहेको समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभएको छ ।प्रारम्भिक जानकारीअनुसार टेकबहादुर लेछर्बो, बिष्णु केसी, अमृत कार्की, खेम केसी, नेत्र कार्की लगायतको घर ध्वस्त भएको छ ।

आगलागी भण्डारी खाजाघरको किचनबाट सुरु भएको स्थानीयले बताए पनि कुन घर र के कारणले आगलागी भएको हो भन्ने यकिन भई नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिनुभयो । खड्काले लगत सङ्कलनको कार्य धमाधम भइरहेको बताउनुभयो ।