झापामा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

0
Shares

न्युज अप नेपाल, भद्रपुर ।

नेपाल आयल निगमले तोकेको दरभन्दा ७५ पैसा बढीमा झापाका व्यवसायीले इन्धन बिक्री गरिरहेको पाइएको छ । भारतको पश्चिम बङ्गाल सरकारले झापाको पूर्वी नाका काँकडभिट्टा ठप्प पर्दा झापाका पम्पहरूले आयल निगमले तोकेको दरभन्दा बढीमा इन्धन बिक्री गरिरहेको पाइएको हो ।

आयल निगमले चाराआली डिपोको १५ किलोमिटर भित्रका पम्पहरूले पेट्रोल रु ९४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल रु ८३ रुपैयाँ ५० पैसा बिक्री गर्न मूल्य निर्धारण गरेको छ । तर, झापाका पम्पहरूले तोकेको मूल्यमा ढुवानी खर्च भन्दै ७५ पैसा थप गरेर इन्धन बिक्री गरिरहेका छन् । ढुवानी खर्चमा ७५ पैसा जोड्दा पेट्रोल ९५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टितेल रु ८४ रुपैयाँ २५ पैसामा इन्धन बिक्री भइरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै पश्चिम बङ्गाल सरकारले गत चैत २६ गतेदेखि पूर्वी नाका काँकडभिट्टा–रानीगञ्ज पानीटंकी बाट आयात निर्यात बन्द गरेको छ । बङ्गालले पूर्वी नाकामा अघोषित नाकाबन्दी लगाएपछि भारतबाट आउने इन्धन, औषधि लगायतका अति आवश्यक सामान भन्सार आउन छाडेको मेची भन्सार कार्यालयले जनाएको छ ।

बङ्गालले काँकडभिट्टा नाका ठप्प पारेपछि सिलीगुढी डिपोबाट इन्धन आउन छाडेको महिना दिन हुन लागेको चाराआली डिपोका प्रमुख विपिन श्रेष्ठले जानकारी दिनुभयो । काँकडभिट्टाबाट इन्धन आउन छाडेका कारण झापामा इन्धनको मूल्यमा ७५ पैसा बढेको उहाँले स्वीकार गर्नुभयो । मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जिल्ला प्रशासन र चाराआली डिपोको सल्लाहमै रकम बढाएको उहाँको भनाइ छ ।

विराटनगर डिपोबाट इन्धन लिनुपर्दा ढुवानी खर्च बापतको रकम एसोसिएसनले इन्धनमा जोडेको हो । यसमा हामीले हस्तक्षेप गर्न अधिकारभित्रै पर्दैन । सिलीगुढीबाट इन्धन आउन छाडेकोले यहाँका पम्प व्यवसायीहरूले विराटनगरबाट बिल काटेर इन्धन ल्याएर सिधै पम्पमा लैजाने गरेको छ । हामीले सहजीकरण मात्र गरिरहेका छौ उहाँले भन्नुभयो । सरकारले तोकेको मूल्यमा इन्धन नपाएको सवारी चालकहरूको गुनासो छ ।

मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नवीन कोइरालाले विराटनगरबाट इन्धन ढुवानी गरेर बिक्री गर्दा प्रति लिटर एक रुपैयाँ अतिरिक्त खर्च बढी लाग्न थालेको बताउँनुभयो । चाराआली डिपोबाट इन्धन ढुवानी गर्दा १५ किलोमिटरसम्म ढुवानी खर्च नलाग्ने गरेको उहाँको भनाइ छ । पम्प व्यवसायीलाई घाटा हुन थालेपछि दुई दिन देखि भाउ बढाएको उहाँले जनाउँनुभयो । काँकडभिट्टा नाका सुचारु भए लगतै निगमले तोकेको भाउमै इन्धन बिक्री हुने उहाँको भनाइ छ ।

पूर्वको झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी ६५ वटा पम्पहरू रहेका छन् । झापामा मात्र ३५ वटा पम्प छन् । चार वटै जिल्लामा दैनिक एक लाख लिटर इन्धन खपत हुने गरेको चाराआली डिपोका प्रमुख श्रेष्ठले बताउँनुभयो ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मेची पेट्रोलियम डिलर्स एसोसिएसनले लकडाउनको समयमा बढाएको बेला झापाका ग्यास उद्योगले भने एलपी ग्यासको मूल्य बढाएको छैनन् । झापामा चार वटा ग्यास उद्योग सञ्चालनमा छन् । ग्यास उद्योगहरूले पनि भारतबाटै एलपी ग्यास ल्याइरहेका छन् । काँकडभिट्टा नाका बन्द भएपछि उनीहरू पनि जोगबनी–विराटनगर नाकाबाटै ग्यासका बुलेट भित्राइरहेका छन् ।

नेपाल एलपी ग्यास महासङ्घका सल्लाहकार तथा पराजुली ग्यास उद्योगका सञ्चालक आदित्य पराजुलीले विराटनगर भएर ग्यासका बुलेट झापा ल्याउँदासम्म ढुवानी खर्च बढी लाग्छ, तर जिल्लामा एलपी ग्यासको मूल्य नबढाएको बताउँनुहुन्छ । एउटा ग्यासको बुलेट विराटनगर भएर भित्राउँदा कम्तीमा १५ देखि २० हजार बढी खर्च लाग्ने भएपनि निगमले तोकेको मूल्यमै एलपी ग्यास बिक्री गरिरहेको उहाँले जानकारी दिनुभयो ।