अमेरिकामा भियतनाम युद्धमा भन्दा धेरैको मृत्यु

0
Shares

वासिंगटन, (एजेन्सी)

कोरोना भाइरसको संक्रमणले अमेरिकामा अहिलेसम्म ६० हजारको हाराहारीमा मृत्यु र १० लाख ३५ हजार ७ सय ६५ संक्रमित भइसकेको छ । मृत्युको यो आँकडा २० वर्षसम्म चलेको भियतनाम युद्धमा मारिएका अमेरिकी सैनिक संख्याभन्दा धेरै हो ।

सन् १९५५ देखि १८७५ सम्म चलेको भियतनाम युद्धमा अमेरिकाले आफ्ना करिब ५८ हजार सैनिक गुमाएको थियो । यसबीच अमेरिकी गुप्तचर एजेन्सी सीआईएले नयाँ खुलासा पनि गरेको छ । उसले कोरोना भाइरसलाई लिएर १२ पटक चेतावनी दिएको तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेकपटक नजरअन्दाज गरेको र अब महामारीले अमेरिकालाई आफ्नो पकडमा लिएको बताएको छ ।

चीनले पनि ट्रम्पमाथि आफ्नो दोष अरूमाथि थोपारेको आरोप लगाउने गरेको छ । चीनको विदेश मन्त्रालयले सीधै अमेरिकी नेताले झूटो बोलिरहेको बताएको छ । उनको एक मात्र उद्देश्य भनेको आफ्नो जिम्मेवारीबाट बच्ने र अरूलाई दोष दिनु हो ।

सीआईएका अधिकारीहरुले अमेरिकी अखबार वासिंगटन पोस्टलाई भने– ‘हामीले राष्ट्रपतिलाई चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अत्यन्त घातक भएकोमा सतर्क गराएका थियौं । चीन यो कुरा लुकाइरहेको छ । यस्तो पहिला कहिल्यै देखिएको छैन । यसमा पनि ट्रम्पले कुनै ध्यान नै दिएन ।’

यसबीच डोनाल्ड ट्रम्पले अमेरिकामा विश्वभरिका देशको तुलनामा अत्यधिक टेस्ट भएको बताए । त्यसै कारण अमेरिकामा कोभिड–१९ का धेरै बिरामी देखिएको उनले बताए । उनले भने– ‘हामी आफ्ना डाक्टर र वैज्ञानिकहरुमाथि पूरा भरोसा गर्छौं ।’

यद्यपि कैयौं मुद्दामा आफूले राम्रो निर्णय गरेको उनले बताए । जस्तै विशेषज्ञका विरोधका बाबजुद आफ्नो सरकारले देशको सीमाहरु बन्द गरेको उनले बताए ।

अमेरिकामा राष्ट्रपति पदका लागि नोभेम्बरमा चुनाव हुन गइरहेको छ । अहिलेसम्म १५ राज्यले राष्ट्रपति चुनाव अगाडि उम्मेदवारी चयनका लागि हुने प्राइमरी चुनाव रोकेको छ । यसमा धेरैजसो चुनाव जुनसम्मका लागि सारिएका छन् । राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई नोक्सान उठाउनुपर्ने अनुमान गरिएको छ ।

धेरैजसो अमेरिकी कोरोना भाइरसलाई लिएर ट्रम्पको तयारीलाई लिएर रुष्ट छन् । नागरिक तथा डाक्टर र विशेषज्ञहरुले पनि ट्रम्पले अत्यन्त खराब ढंगले यो स्थितिको सामना गरेको प्रतिक्रिया दिइरहेका छन् । उनको गलत नीतिका कारण अमेरिकाले आज यो अवस्था भोग्नुपरेको उनीहरुको राय रहेको छ ।