चिरञ्जीवी मास्के, दोलखा
खरीढुङ्गालाई फेरो पारेर बादलको एक झुण्ड मकैबारी तिर बत्तासिँदै माथि आकाश ढाकेपछि बारीको डिलमा सागको मुठा कस्दै गरेका कृष्ण तामाङ झस्किएका छन् ।
ओ हो ! पानी पो झर्छ कि । मनमा चिसो पसेको छ कृष्णको । तीन चार जना दिदीबैनी साग टिप्न ब्यस्त छन् बारीमा । अनि संगै उभिएका छन् तरकारीका होलसेल व्यवसायी रामचन्द्र सुवेदी । पानीनै परे पनि उनले बिहीबारको बिहानी दुई कान्लामा लहराएको साग टिप्नै पर्ने बाध्यता छ । किनभने सँगै उभिएका रामचन्द्रले लरी बोलाइसकेका छन् काठमाडौँ कालिमाटी तरकारी बजारमा साग पु¥याउन ।
कोरोना संक्रमणको भयले सिंगो नेपाल लकडाउन भए पनि किसानहरुको दैनिकीमा खासै परिर्वतन देखिएको छैन् । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीका किसानहरुको दैनिकी त झन व्यस्त बनेको छ ।
चैत्र वैशाखको रायोको साग र काउलीको सिजनले मकैबारीका किसानहरुको दैनिकी व्यस्त बनाइदिएको हो । किसानहरुलाई चिन्ता भने एउटै कुराको छ, लकडाउनका कारण तरकारीको मूल्य नै आउन सकेन ।
१८/२० वर्ष अघिसम्म मकैबारीका जमिनमा पातला घरहरु र मौसमअनुसार मकै तथा आलुमात्र देख्न सकिन्थ्यो । त्यही पनि व्यावसायिक हैन व्यक्तिगत प्रयोगको लागि मात्र । २०६० सालबाट भने मकैवारीका किसानहरुले व्यावसायिक तरकारी खेती सुरु गरेर कालिमाटीको तरकारी बजारमा वार्षिक ६ करोडभन्दा बढीको तरकारी निर्यात गर्दै आएको छ ।
धादिङ स्थायी घर भएका रामचन्द्र सुवेदीको लकडाउन दैनिकी पनि मकैबारीका किसानहरुको तरकारी बारीमा फेरो लाउँदैमा वित्ने गरेको छ । आकाशले रङ्ग फेरेर बादलसँग लुकामारी गर्दा रामचन्द्रको मानमा चिसो पस्ने गर्छ । अझ उनलाई त मौसमको परिर्वतनले असिनालाई निम्तो दिने हो कि भन्ने भय धेरै हुँदो रहेछ ।
सागको पात तन्कँदै गर्दा र काउलीमा फूल फक्रँदै गर्दा किसानहरुसँग मोलमोलाई सकिसक्ने रामचन्द्रलाई असिनापानीले काउली र सागलाई नोक्सान गर्छ कि भन्ने चिन्ता लाग्नु स्वाभाविक नै हो ।
त्यसो त मकैबारीमा तरकारीको मोलमोलाई गर्न रामचन्द्र जस्ता धेरै होलसेल व्यवसायी बारीका कान्ला उक्लँदै र घरका ढोका ढकढकाउँदै किसानलाई फुल्याउन पुग्ने गरेका छन् । तर १५ वर्षदेखि मकैवारीको जमिनमा लहलह बनेका साग र काउलीको फूलमा आफ्नो खुसी साट्न ब्यस्त बनेका रामचन्द्रलाई हरेक घरका पेटी र बारीका कान्लाहरुले चिनिसकेका छन् ।
चरिकोटबाट मूडे र खाडीचौरको उकाली ओरालीमा सुमोको गिएर बदल्दै यात्रुसँग गफिएर काठमाडौँ हुइँकिने दैनिकी छोडेर केही वर्षदेखि आफ्नै घर आँगनमा फक्रिएका काउली र सागसँग दौंतरी गाँस्न व्यस्त पप्पु तमाङ भन्दै थिए– रामचन्द्र जी त अँधेरोमा पनि मकैबारीका सबै कान्ला उक्लन सक्ने भइसकेका छन् ।
व्यवसायमा बाठा रामचन्द्र सिजनअनुसार धादिङ, दोलखालगायतका जिल्लाबाट कालिमाटीका लागि तरकारी बटुल्ने गर्छन् । मकैबारीबाट चैत्र वैशाखमा मात्र झण्डै डेढ दुई करोडको साग कालिमाटी पु¥याउने गरेको सुनाउँदा रामचन्द्रको मुहारमा छुट्टै चमक र खुसी देख्न सकिन्थ्यो ।
मकैबारीको जमिनमा माटो खोस्रदै मौसम अनुसारका तरकारीसंग रमाउन अव्यस्त चन्द्रबहादुर तामाङको आधी उमेर आकाशमा दौडने बादलको रुप र रङ्ग हेर्दै अनुहारको भाव बदल्दैमा बितेको छ । पानी नपरेनी चिन्ता, धेरै परेनी चिन्ता, असिना पर्दा नि चिन्ता, हिउँ नपर्दा नि चिन्ता चन्द्रबहादुरले सुनाए– तर यही दैनिकी हामीलाई प्यारो भइसकेको छ ।
चन्द्रबहादुरले १५/२० रोपनी जमिनमा तरकारी खेती गरेका छन् । सिंगो मकैबारीमा झण्डै तीन सय रोपनी जमिनमा तरकारी खेती हुदै आएको चन्द्रबहादुर बताउँछन् । मकैबारीमा सिजनअनुसार रायोको साग, काउली, बन्दा, आलु, गाँजर, भेडे खोर्सानी, कालो भेन्टा लगायतका तरकारी उत्पादन हँुदै आएका छन् ।
लक डाउनले सहरिया भएका धेरै आफन्तलाई गाउँमा फर्काएको छ । बाँझो जमिनमा यो पटक कुटी र कोदालीका चोट तथा पानीका थोपाहरु बर्सिएका छन् । किसानको मेहेनत र मौसमको मेहेरवानीले साग र काउलीको हरियाली अनि आलुको बोटमा देखिएका बैजनी फूलले धेरै चन्द्रबहादुरहरुलाई पुलकित बनाउने गरेको छ ।












प्रतिक्रिया