ट्रम्पलाई चीनले चुनावमा हराउने डर

0
Shares

वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कोराना भाइरस सम्बन्धमा आफूले बेइजिङको आलोचना गरेका कारण चीनले आगामी नोभेम्बरमा हुनगइरहेको अमेरिकी राष्ट्रपतीय चुनावमा आफूलाई हराउन हरसम्भव प्रयास गर्न सक्ने विचार प्रकट गरेका छन् ।

ह्वाइट हाउसमा अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई अन्तर्वार्ता दिने क्रममा ट्रम्पले भनेका छन्– ‘महामारीका बेला बेइजिङले अमेरिकाको खरो टिप्पणीको सामना गरेको छ, चीनले विश्वलाई कसरी कोभिड–१९ महामारी यति छिटो फैलियो भनेर जवाफ दिनुपर्छ भन्दै दबाब पनि दिइएको छ ।’ त्यसैले चीनले बदला लिन्छ भन्ने तर्क ट्रम्पको छ ।

ट्रम्प स्वयंमाथि पनि यस महामारी समस्यालाई नियन्त्रणमा लिन यथेस्ट प्रयास नगरेको आरोप लाग्ने गरेको छ । कोरोना भाइरसले अमेरिकाको जल्दोबल्दो अमेरिकी अर्थतन्त्रलाई ध्वस्त बनाइसकेको छ । ट्रम्पले सो अर्थतन्त्रको मुद्दालाई आगामी निर्वाचनको प्रचारप्रसार अभियानमा आकर्षक ढंगले प्रस्तुत गर्ने सम्भावना रहेको थियो ।

तर, चीनविरुद्ध व्यापार युद्ध छेडेका ट्रम्पले आफूले चीनविरुद्ध कस्तो रवैया अपनाउने भन्नेबारे भने स्पष्ट पारेका छैनन् । रिपब्लिकन राष्ट्रपति ट्रम्पले नोभेम्बरमा हुने चुनावमा चीनले आफ्ना डेमोक्रेटिक प्रतिस्पर्धी जोय बाइडनले जितून् भन्ने चाहेको बताएका छन् ।