रूसका प्रधानमन्त्री- ‘मलाई भर्खरै थाहा भयो, मेरो कोरोना टेस्ट पोजेटिभ आयाे’

0
Shares

एजेन्सी।

रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका थिए । सोही क्रममा प्रधानमन्त्री मिखाइलमा पनि संक्रमण भएको पुष्टि भएको हो ।

राष्ट्रपति भ्लादमिर पुटिनलाई  उनले भिडियो कल गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिँदै गरेको भिडियो रुसी टेलिभिजन च्यानलमा प्रशारण गरिएको थियो । भिडियो कलमा उनले पुटिनलाई भनेका छन् – ‘मलाई भर्खरै थाहा भयो, मेरो कोरोना टेस्ट पोजेटिभ आएको छ । मैले डाक्टरको निर्देशनको पालना गर्नुपर्दछ ।’

राष्ट्रपति पुटिन र प्रधामनन्त्री मिखाइलबीच अबका केही दिन कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रथम उपप्रधानमन्त्री आन्द्र बेलोसोभले लिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री मिखाइल भने सेल्फ आइसोलेसनमा बसेका छन् ।

प्रधानमन्त्री मिखाइल बेलायतका प्रधानमन्त्री बोरिस जोनसनपछि कोरोना संक्रमित हुने विश्वका दोश्रो उच्च तहका नेता हुन् । त्यसअघि जोनसनबाहेक उच्च तहका नेताहरु संक्रमित भएका थिएनन् ।

जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका मिखाइले कोरोना महामारी विरुद्धको अभियानमा राम्रो भूमिका खेलिरहेका छन् ।

अहिलेसम्म रुसमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । बिहीबार मात्रै त्यहाँ १ सय बढीको मृत्यु भएको छ ।

त्यस्तै सङ्क्रमितमध्ये साढे ११ हजार उपचारपछि घर फर्किएका छन् । अहिले रूसमा ९३ हजार ८ भन्दा बढीमा कोरोना सक्रिय रहेको छ । रूसमा सबैभन्दा बढी प्रभावित मस्कोमा भएको छ । मास्कोमा ५० हजार भन्दा बढीमा कोरोना संक्रमण भएको बताइएको छ ।

रूसमा पहिलो दुई व्यक्तिमा सङ्क्रमण जनवरी ३१ मा भेटिएको भएपनि मार्चको अन्त्यपछि मात्रै सङ्क्रमित सङ्ख्यामा वृद्धि भएको थियो ।