अर्थतन्त्रमा कोरोनाको प्रभाव उच्च, आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा खुम्चिने


नेपाल समाचारपत्र, काठमाडौं

नेपालको अर्थतन्त्रमा कोरोनाको असर उच्च पर्ने भएको छ । कोरोनाको प्रभाव अर्थतन्त्रमा पर्न जाँदा चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा खुम्चिन सक्ने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण रहेको छ । विभागले चालू आर्थिक वर्षको ९ महिना चैत मसान्तसम्मको तथ्यांकका आधारमा यो प्रक्षेपण गरेको हो ।

सरकारले चालू आर्थिक वर्षमा साढे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । विश्व बैंकले पनि सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशतका बीचमा सीमित रहने प्रक्षेपण गरिसकेको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा अवधिमा नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ७६ अर्ब रुपियाँ पुगेको विभागले जनाएको छ ।

 

चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ अमेरिकी डलर पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ । तथ्यांक विभागले अमेरिकी डलरसँगको विनिमय दर १ सय १६ रुपियाँका दरले हिसाब गर्दा १ लाख २६ हजार १८ रुपियाँ वार्षिक आय हुने अनुमान गरेको हो ।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ७५ प्रतिशतले हासिल हुने संशोधित अनुमान गर्दै विभागले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४ दशमलव ४८ प्रतिशत बिन्दुले कम हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

कूल गार्हस्थ उत्पादनमा २८ दशमलव २ प्रतिशत हिस्सा ओगट्ने प्राथमिक क्षेत्रको वृद्धिदर गत वर्षभन्दा न्यून हुने विभागको प्रक्षेपण छ । यसमा कृषि तथा वन, मत्स्य र खानी उत्खनन् पर्दछन् । यसैगरी द्वितीय क्षेत्रको कूल गार्हस्थ उत्पादनमा योगदान १३ दशमलव ७२ प्रतिशत छ ।

चालू आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ३ दशमलव ३६ प्रतिशत हुने अनुमान विभागले गरेको छ । यस वर्ष खानी तथा उत्खनन्, उद्योग, होटल तथा रेस्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण क्षेत्र ऋणात्मक हुने विभागको अनुमान छ ।

यस्तै कूल गार्हस्थ उत्पादनको ५८ दशमलव शून्य ८ प्रतिशत हिस्सा ओगट्ने सेवा क्षेत्रको वृद्धिदर १ दशमलव ९९ प्रतिशत हुने अनुमान विभागको छ । होटल, रेस्टुरेन्ट तथा हवाई यातायातमा कोरोना भाइरसका कारण प्रत्यक्ष असर परेकाले वृद्धिदर न्यून हुने विभागको अनुमान छ ।

चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ अमेरिकी डलर पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ । विभागले अमेरिकी डलरसँगको विनिमय दर १ सय १६ रुपियाँका दरले हिसाब गर्दा १ लाख २६ हजार १८ रुपियाँ वार्षिक आय हुने अनुमान गरेको छ ।

विभागले गत आर्थिक वर्षमा नेपालीको औसत आय १०३९ अमेरिकी डलर भएको संशोधित अनुमान पनि सार्वजनिक गरेको छ । यसअघि १०३४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको थियो ।