चिटिक्क राजधानी


ईश्वरराज ढकाल, काठमाडौं ।

लकडाउनको एक महिनामा सडक पूूर्ण सफा देखिएका छन् । सडकको दायाँ–बायाँ फूलका बोट–बिरुवा रोपिएका छन् । महानगरको स्वामित्वमा रहेका अधिकांश ट्राफिक आइल्यान्ड पूूर्णरूपमा सजिएका छन् । भनौं लकडाउनको समयमा काठमाडौंको सडक चिटिक्क देखिएका छन् ।

विभिन्न निकायसँगको साझेदारीमा धमाधम आइल्यान्ड सजाउने काम भइरहेको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले लकडाउनमा एक दिन पनि बिदा नदिएर ट्राफिक आइल्यान्ड मर्मतसम्भार तथा व्यवस्थापन र हरियाली प्रवद्र्धनका काम गरिरहेको बताउनुभयो । ‘हामीलाई त काम गर्न सहज भएको छ । गाडीको गाइँगुइँ छैन मज्जाले काम गर्न पाएका छौं ।’ –श्रेष्ठको भनाइ छ ।

कामपाका मेयर विद्यासुन्दर शाक्यले हरियाली प्रवद्र्धनको कामलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले महानगरको स्वामित्वमा रहेका सबै ट्राफिक आइल्यान्ड पुनर्निर्माण र सजावट गर्न साझेदारी निकाय र विभागलाई निर्देशन दिइसकेको बताउनुभयो ।

विभागले सुन्धारा चोकमा भएका ४ वटा र भोटहटिहीको एउटासमेत गरी पाँचवटा आइल्याड निर्माण सम्पन्न गरिसकेको छ । विभागले आइल्यान्ड पुनर्निर्माणसँगै सडकमा ब्रुमर लगाउने र बढार्ने, फोहोर संकलन ढुवानी तथा अन्तिम व्यवस्थापन गर्ने, झार उखेल्ने जस्ता नियमित सरसफाइका कामसँगै शहरी सौन्दर्यीकरण र हरियाली बढाएर वातावरणीय सुधारका काम गरिरहेको जनाएको छ ।

विभागगीय प्रमुख श्रेष्ठले त्रिपुरेश्वर र दरबारमार्गको आइल्यान्ड पुनर्निर्माण गर्ने र शहीदगेटको सौन्दर्यीकरण गर्ने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार करिब १५ लाख रुपियाँ बजेटमा ती संरचनाको सौन्दर्यीकरण गर्ने तयारी भइरहेको छ ।

हाल पुनर्निर्माण गरिएको सुन्धाराको आइल्यान्डको उचाइ साढे २ फिट छ । आकर्षक बनाउन बाहिरी स्वरूपमा परम्परागत इँटा राखिएको छ । संरचनाको भित्री भागमा थप माटो भरेर फूल तथा बिरुवा रोपिएका छन् ।

विभागले राजधानीका आइल्यान्डमा एलिजिया, साइकस पाम, सेप्लेरिया भेरिगेटर, निलजाई, ड्रेसिना इलिगन, ड्रेसिन भेरिकेटर, फोनिक्स पाम, क्याट्रक पाम, ड्रेसोना क्लोटन, जनादो पाम, बटर प्याराडाइज र रेक्सोना पामलगायत दुई दर्जन प्रजातिका बिरुवा रोपेको छ ।

विभागीय प्रमुख श्रेष्ठका अनुसार त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक गेट सामुन्ने, महांकाल मन्दिर अगाडि, वीर अस्पताल अगाडि, भोटाहिटी, जमल, तीनधारा पाठशाला अगाडि, काठमाडौं प्लाजा रोड, त्रिचन्द्र क्याम्पसमा ट्राफिक आइल्यान्ड छन् ।

यस्तै रत्नपार्कबाट बागबजार जाने चोक, भद्रकाली, माइतीघर मण्डला, थापाथली, नागपोखरी, कोटेश्वर, तीनकुनेचोक, बालाजुचोक, टंकेश्वरी मन्दिर, कालिमाटीस्थित चित्तधर शालिक, तीनकुनेको उत्तरतर्फ, एअरपोर्ट गेट, कमलादी, सानो गौचरण चोक, पुतलीसडकबाट बा“सघारी हुँदै कालिकास्थान जाने चोक, अनामनगर हनुमानस्थानदेखि घट्टेकुलो पुग्ने सडकसम्म आइल्यान्ड रहेका छन् ।

तीमध्ये माइतीघर मण्डला कृषि विकास बैंकलाई, जमल–तीनधारा पाठशाला अगाडि र शंखधरपार्क (रत्नपार्क) को आइल्यान्ड प्रभु बैंक, त्रिपुरेश्वर चोकमा सेन्चुुरी बैक नया“ सडक गेट अगाडि र प्रदर्शनीमार्गको आइल्यान्डको मर्मतसम्भार र व्यवस्थापनको जिम्मा नबिल बैंक र एरोरुटले संयुक्तरूपमा लिएका छन् । तीबाहेक सबै आइल्यान्ड कामपाले निर्माण गरेको हो ।

विभागका अनुसार आइल्यान्डबाहेक सडक किनारामा बोट–बिरुवा रोप्ने र त्यसलाई व्यवस्थापन गर्न विभिन्न निकायलाई जिम्मा दिइएको छ । विभागका अनुसार माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन नेपाल टेलिकमले गरिरहेको छ ।

चक्रपथ क्षेत्रअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी क्षेत्रमा टोयोटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड अघिल्तिरको पर्खाल क्षेत्रमा नागरिक उड्डयन प्राधिकरण, सर्वोच्च अदालत अगाडि पञ्चकन्या समूह र नेपाल वायुसेवा निगम अगाडिको भागमा नबिल बैंकले हरियाली व्यवस्थापनको काम गरिरहेका छन् ।