सुलभ अग्रवालको बयान सुरू


काठमाडौँ ।

कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका व्यापारी सुलभ अग्रवालको अहिले काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बज्रेश प्याकुरेलको इजलासमा बयान सुरु भएको हो ।

अग्रवालका तर्फबाट लव मैनाली लगायतका चारजना वकिलले वहस गर्ने भएका छन् ।

सरकारी वकिल कार्यालयले अग्रवालविरुद्ध मंगलबार जिल्ला अदालतमा कालोबजारी र सामाजिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो।

महानगरीय प्रहरी परिसरले अग्रवालविरुद्ध कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी, कृत्रिम अभाव सिर्जना तथा सार्वजनिक पदको दुरुपयोग गरी चारवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

प्रहरीले अग्रवाललाई चारवटै कसुरमा १० वर्ष कैद र १५ लाख ७८ हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ।

चीनमा करिब तीन हजार रुपैयाँ पर्ने थर्मल गन १५ देखि २० हजार रुपैयाँमा बिक्री गरेको भन्दै प्रहरी आफैं ग्राहक बनेर उनलाई चैत २५ गते पक्राउ गरेको थियो।