एक महिनासम्म भारतीय क्वारेन्टाइनमै, कमाएको पैसा सबै सकियो



विनोद सिंह विष्ट, बैतडी।

सीमापारि रहेका नेपाली मजदुरहरूले १ महिना भारतीय क्वारेन्टाइनमा बस्दासमेत स्वदेश फर्कन नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । शुरूमा दुई हप्ता क्वारेन्टाइनमा बसेर स्वदेश फर्कन पाउने भने पनि एक महिना बस्दासमेत मातृभूमि फर्कन नपाउँदा आफूहरूलाई निकै समस्या भएको बैतडीको दोगडाकेदारका हरीश भट्टले बताउनुभयो ।

उहाँले भन्नुुभयो– ‘गाउँमा मकै छर्ने समय शुरू भइसकेको तर आफूहरू भारतीय क्वारेन्टाइनमा बस्नुपर्दा खेतीको काममा समेत बाधा पुगेको छ ।’
भारतीय क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ्य अवस्था राम्रो हुँदासमेत सरकारले स्वदेश फर्कन नदिएकोमा पुर्चौंडी नगरपालिका–३ का नरेन्द्र धामीले आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले भन्नुुभयो– ‘कोरोनाको कुनै लक्षण नभएको अवस्थामा समेत सरकारले सीमामै अलपत्र पार्नु नाजायज हो ।’

मजदुरीका लागि भारतको पिथौरागढलगायत क्षेत्रमा पुगेकाहरूले घर फर्कन नपाउँदा कमाएको पैसासमेत सकिएको बताएका छन् । घर–परिवारका लागि भनेर कमाएको पैसासमेत क्वारेन्टाइनमै सकिएको पुर्चौंडी नगरपालिका–८ का वीरेन्द्र पाठकले बताउनुभयो ।

सीमामा रहेका नेपालीलाई फर्काउनका लागि स्थानीयस्तरमा क्वारेन्टाइन निर्माणको काम सकिए पनि स्वदेश ल्याउने विषयमा संघीय सरकारको निर्णय आवश्यक पर्ने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो । उहाँले भन्नुुभयो– ‘सीमामा रहेका नेपाली मजदुरहरूलाई स्वदेश ल्याउन केन्द्रको निर्णय पर्खिरहेका छौं ।’

भारतको झुलाघाट र धारचुलामा गरेर १ हजार ५ सय मजदुर रहेका छन् । जसमध्ये बैतडीका मात्रै ९ सय मजदुर भारतीय क्वारेन्टाइनमा बसिरहेका छन् ।

कोरोना कहर: बैतडी प्रशासनले गर्यो १ महिनामा ३० काम

जिल्ला प्रशासन कार्यालय बैतडीले लकडाउनको १ महिनाको अवधिमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३० काम गरेको जनाएको छ । प्रशासनले गत चैत ११ गतदेखि लकडाउनको एक महिनामा ३० क्रियाकलाप गरेको जनाएको हो ।

फागुन ११ गतेदेखि झुलाघाटमा हेल्थडेस्क स्थापना गरेर २ हजार ६ सय ८२ जनाको स्वास्थ्य चेकजाँच गरी स्वदेश भित्र्याइएको बैतडीका प्रमुुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

यस्तै २६ आइसोलेसन बेड स्थापना, १ हजार २६ बेडका क्वारेन्टाइन निर्माण, सचेतनामूलक सन्देश निरन्तर प्रवाह, कैदीबन्दीको एचआईभी एड्स र टिभीको परीक्षण, लकडाउनको पूर्णपालनाका लागि प्रहरी परिचालन र उल्लंघन गर्नेलाई कारबाही, आरडीटी र स्वाबको दैनिक रिपोटिङ, कमान्ड पोस्टको स्थापना गरिएको जनाएको छ ।

कञ्चनपुर र कैलालीका नाका भएर बैतडी आएका ८५ जनालाई क्वारेन्टाइनमा राखी आरडीटी टेस्ट गरिएको, जिल्लामा २ सय ७४ जनाको आरडीटी टेस्ट र ४ सय २९ जनाको स्वाब परीक्षण गरिएको, अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको सूचना हेलो बैतडी फेसबुक पेजबाट सञ्चालन गरेको, क्वारेन्टाइन व्यवस्थापन र नियन्त्रणका लागि स्थानीय तहलाई अनुरोध गरेको र यस्तो बैठक ११ पटक बसेको र कमान्ड पोस्ट र सीएमसी, जिल्ला सुरक्षा समितिको बैठक १४ पटक बसेको जनाएको छ ।

साथै झुलाघाट नाकामा फसेका १ सय ८६ जनाको उद्धार, बैतडीका ९ वटा बजारमा क्लोरिन छर्किएको, पासलाई व्यवस्थित गर्न ई–पासको व्यवस्था, भारतमा फसेका ३ जना किरियापुत्रीको उद्धार, संयुक्त बजार अनुगमन, कोरोना नियन्त्रणका लागि ९ कर्मचारी कार्यरत, पर्वमा हुने मेलाहरूमा प्रतिबन्ध लगाई भीडभाड नियन्त्रण, १ हजार थान ग्लोब्स र ४० थान पीपीई पालिकालाई वितरण र कार्यालयको प्रवेशद्वारमा हातधुने साबुनपानीको व्यवस्था गरेको जनाएको छ ।

यसका साथै जिल्लामा ११ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको, क्वारेन्टाइनहरूको अनुगमन, हालसम्म ६ सय ९३ जना क्वारेन्टाइन र ५७९ जनालाई होम क्वारेन्टाइनमा बस्न पठाइएको, नेपाल–भारत सीमामा रहेका ८ सय जनाको लगत संकलन गरिएको, राहतसम्बन्धी अनुगमन, खाद्यान्नको ट्रकमा लुकाईछिपाई लिएको मदिरा नियन्त्रण गरी कारबाही, प्रत्येक क्वारेन्टाइनमा सुरक्षा व्यवस्था मिलान गरेको, विपद् व्यवस्थापन समितिको बैठक बसेको र प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र प्रहरी प्रमुखहरूसँगको बैठक बसेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्