चार वायुको प्रभावले मौसममा बदली


काठमाडौं, (नेस)
विभिन्न चार वायुको प्रभावले गर्दा मुलुकको मौसममा बदली भइरहेको जल तथा मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले मौसममा बदली आएको हो ।

मुलुकको पूर्वी भू–भाग नजिक पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बनेको न्यूनचापीय रेखाका साथै बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त वायुको नेपाल प्रवेशले मौसममा तीव्र बदली भइरहेको मौसमविद् राजु प्रधानांगले बताउनुभयो ।

प्रि–मनसुनको अवधिमा स्थानीय वायु सक्रिय हुने र यसमा पश्चिमी वायुजस्ता अन्य वायुको प्रभावले गर्दा मौसमी प्रणाली बलियो भई वर्षा हुने गरेको मौसमविद् प्रधानांगले बताउनुभयो ।

केही दिनदेखि सक्रिय रहेको यी वायुको प्रकृति हेर्दा अझै केही दिनसम्म मौसममा सुधार हुने सम्भावना नरहेको उहाँको दाबी छ । वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ ।

स्थानीय र अन्य भागबाट प्रवेश गरी मुलुकमा विकास भएको बलियो मौसम प्रणालीका कारण देशको पश्चिमी तथा पूर्वी भू–भागका साथै मध्यपहाडी भू–भागमा सामान्य बदली भई एक/दुई स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार यस अवधिमा मध्यह्नदेखि देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ । चट्याङ र हावाहुरीबाट बच्न घरभित्रै बसेर सतर्क रहन मौसमविद्को सुझाव छ ।