थर्मल गनले सुलभलाई अदालत पुर्यायो, डेढ वर्ष कैद र १५ लाख जरिवानाको माग


नेपाल समाचारपत्र, काठमाडौं ।

कालोबजारी तथा माल–वस्तुको अनुचित सञ्चय गरेको आरोप लागेका व्यापारी सुलभ अग्रवालविरुद्ध मंगलबार सरकारले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अग्रवाललाई डेढ वर्ष कैद गरी १५ लाख रुपियाँ जरिवाना गर्न माग गर्दै मुद्दा दायर भएको हो ।

अदालतका अधिकृत टीका सिंहका अनुसार प्रहरीले अग्रवालद्वारा गरिएको अपराधका बारेमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ अन्तर्गत अनुसन्धान गरेको थियो । सो ऐनको दफा १४ को उपदफा (३) मा अपराध भएको वा पत्ता लागेको ९० दिनभित्र मुद्दा दायर गर्नुपर्ने व्यवस्था छ । तर, अनुसन्धान छिटो सकिएकाले ९० दिनसम्म थुनामा राख्न नपरेको एक सरकारी वकिलले बताए ।

सो ऐनअन्तर्गत रहेका अपराधमध्ये अधिकांश अपराधको शुरू कारबाही र किनारा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गर्ने कानुनी व्यवस्था छ । एक वर्षभन्दा कम कैद सजाय हुने मुद्दाको कारबाही गरी छिनोफानो गर्न अर्धन्यायिक निकायलाई अधिकार दिइएको छ । तर, सरकारी कर्मचारीसरहको सुविधा लिएका कारण अग्रवाललाई डेढी सजाय हुने कानुुनमा उल्लेख गरिएअनुसार उनको मुद्दा अदालतमा दायर गर्नुपरेको एक सरकारी वकिलले बताए ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालबाट अग्रवाललाई थुनामा राख्न म्याद थप भइरहेको थियो । ऐनको दफा १९ मा भनिएको छ– ‘तारिखमा हाजिर नहुने वा जमानीमा छाड्दा अभियुक्त भागी जाने सम्भावना भएको वा निजले सबुुत प्रमाणमा हस्तक्षेप गर्ने सम्भावना भएको वा निजले यसअन्तर्गत अर्को कुनै अपराध गर्ने सम्भावना भएको अवस्थामा अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिनेछ ।’

थुनामै राखेर मुद्दा चलाउन माग

उपभोक्ताको हितमा काम गर्नेहरुले अग्रवालको अपराध क्षम्य हुन नसक्ने भएकाले थुनामा राखी कारबाही गर्नुपर्ने धारणा राखेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका अधिवक्ता ज्योति बानियाँले अग्रवालको दूषित नियत देखिएकाले थुनामा राखी मुद्दाको थप कारबाही अघि बढाउनुपर्ने आवश्यकता भएको जनाउनुभयो । तर, प्रजिअ दाहालले के गर्ने भन्ने सम्बन्धमा प्रमाणको आधारमा हुने उल्लेख गर्नुभयो ।

अग्रवाललाई थुनामा राखेर वा धरौटीमा राखी मुद्दाको थप कारबाही गर्ने भन्ने सम्बन्धमा आज बुधबार अदालतमा कानुुन व्यवसायी, सरकारी वकिल र न्यायाधीशबीच छलफल हुने भएको छ । प्रहरीले बुधबार अग्रवाल र प्रमाणका अन्य सामानहरू अदालत लाने भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका केन्द्रीय सदस्य कीर्तिनाथ शर्मा खुलमखुला कालोबजारी गर्नेलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने धारणा राख्नुहुन्छ ।

यस ऐनअन्तर्गत अपराधी ठहर भएको व्यक्तिलाई सार्वजनिकरूपमा निन्दा गर्नका लागि प्रमुख जिल्ला अधिकारीले अन्तिम निर्णयलाई सार्वजनिकरूपमा प्रकाशित गर्न सक्ने कानुुनी व्यवस्था छ । ऐनको दफा १६ मा भनिएको छ– ‘अन्तिम निर्णय भइसकेपछि यस ऐनअन्तर्गत अपराधी ठहरिएको व्यक्तिको नाम, ठेगाना र निजले गरेको अपराध तथा सजायको प्रकृति खोली प्रकाशित गराउन व्यापक सार्वजनिक हितका लागि उपयोगी हुन्छ भन्ने देखिएमा अन्तिम निर्णय गर्नेले समाचारपत्र वा अन्य कुनै माध्यमबाट प्रकाशित गराई सार्वजनिकरूपमा निन्दा गर्न निर्देशन दिन सक्नेछ ।’

 

याे पनि हेर्नुहाेसः

‘गल्ती एउटाको सजाय सबैलाई दिनु हुँदैन,’ सुलभ अग्रवाल प्रकरणले महावाणिज्यदूतको गरिमामा धक्का