व्यापारिक संघमा अझै आरोपित व्यक्ति

14
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

स्वास्थ्य सामग्रीकोे कालोबजारी गर्दागर्दै रङ्गेहात पक्राउ परेका व्यापारी सुलभ अग्रवालविरुद्ध चार किसिमका आरोपमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेकोमा व्यापारी समुदायले प्रसन्नता व्यक्त गरेका छन् ।

‘एक व्यापारीले गलत काम गर्दा हामीप्रति पनि आम जनसमुदायको धारणा बिग्रिन्छ, त्यसैले दोषीलाई कडा कारबाही भएपछि नै हामीप्रतिको जनधारणा सकारात्मक हुन्छ’ नेपाल उद्योग परिसंघ (सीएनआई) का एक उच्च पदाधिकारीले नेपाल समाचारपत्रलाई बताए । उनले भने दोषीले सजाय नपाउँदा हामी सबै लागेर निजलाई बचाएको हो कि भन्ने अर्थ लाग्छ, जो हामी इमान्दारीका साथ व्यवसाय गर्ने कसैका लागि पनि हितकर छैन ।

स्मरण रहोस्, अग्रवाल आज पनि सीएनआईका उपाध्यक्ष छन् । तर, उनलाई सो जिम्मेवारीबाट तत्काल नहटाइए पनि कम्तीमा निरपेक्ष राखिनुपर्छ भन्ने माग भने उठिसकेको छ ।

तीन सातादेखि प्रहरी हिरासतमा रहेका अग्रवाललाई जोगाउन व्यवसायीहरुको एक समूह दबाब र प्रभाव प्रयोग गरी उनलाई कारबाहीबाट उन्मुक्ति दिलाउन लागिरहेका कारण उनलाई स्थगनमा राखेर व्यवसायीको प्रतिष्ठा उच्च बनाइराख्नेहरु कमजोर भएका छन् ।

कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा भइरहेका बेला अग्रवाल तीन सय प्रतिशतभन्दा बढी मूल्यमा स्वास्थ्य सामग्री कालोबजारी गर्दैगर्दा प्रहरीको स्टिङ अप्रेसनमा पक्राउ परेका थिए । तर, व्यावसायिक वृत्तका केही अगुवा भने उनलाई चोख्याउन शक्तिकेन्द्र धाउँदै आएका छन् ।

विश्व नै संकटमा परेको बेला व्यावसायिक वृत्तको नै बदनाम गर्नेलाई कारबाही गर्नुको साटो जोगाउन उद्दत हुँदा अग्रवाल अझै सीएनआईको कार्यसमितिमा बहाल छन् । अग्रवालको हर्कतका कारण समाजमा सीएनआईको छवि धमिलो हुनपुगेको र स्वयम् अग्रवालले अभियोग स्वीकार गरिसकेको र प्रहरीले चार–चार मुद्दा चलाउन सिफारिससमेत गरिसकेको अवस्थामा सीएनआईको कार्यसमितिबाट हटाउन केही सदस्यले आवाज उठाए पनि त्यसलाई दबाउने काम भएको सीएनआईको कार्यसमितिका केही सदस्यले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

‘कसको पारिवारिक सम्बन्ध, व्यक्तिगत एवम् व्यावसायिक सम्बन्ध वा साझेदारी छ भन्ने विषय यो बेला गौण हुनुपर्छ । एकजनाको अपराधले सिंगो व्यावसायिक जगत्माथि लागेको दाग हटाउनुको साटो केही साथीहरू आफूसमेत डुब्नेगरी अग्रवाललाई जोगाउन लागेका छन्’ सीएनआई स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

अग्रवाल प्रकरण पेचिलो बन्दै गएका बेला सीएनआईलाई उनलाई जोगाउन लागेको आरोप छ नि भन्ने नेपाल समाचारपत्रको प्रश्नमा सीएनआईका अध्यक्ष सतिषकुमार मोरले सुलभ अग्रवाल काण्ड आफूले सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘यस सम्बन्धमा सञ्चार माध्यमबाहेक अन्यत्रबाट हामीलाई जानकारी छैन । सुलभ अग्रवालमाथि अनुसन्धान चलिरहेको बताइएको छ । मैले अग्रवाललाई भेट्न चाहे पनि भेट्न पाएको छैन ।’

अग्रवाल पक्राउ तथा उनले अपराधसमेत स्वीकार गरिसकेको अवस्थामा उनलाई बर्खास्त गर्नुपर्ने सदस्यहरूको माग के हो नि भन्ने प्रश्नमा अध्यक्ष मोरले भन्नुभयो– ‘अग्रवाल पक्राउ र अपराधबारे सञ्चार माध्यमबाट मात्रै थाहा पाएका छौं, यत्तिकैमा कारबाही गर्न सकिँदैन ।’

उहाँले ठूला घरानाका व्यापारीमाथि जुन केसमा अनुसन्धानचलिरहेको छ, त्यो दुखद् भएको बताउँदै आफूहरू यसबारे थप बुझेर मात्रै अगाडि बढ्ने बताउनुभयो ।

यस सम्बन्धमा सीएनआईका अर्का उपाध्यक्ष विष्णुकुमार अग्रवालले भने बोल्न चाहनुभएन, संस्थाको आधिकारिक जवाफ अध्यक्षको हुने बताउँदै ‘केही बोल्दिनँ’ भन्नुभयो ।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफूले गलत गर्नेलाई कुनै हालतमा बचाउन नलागेको र नलाग्ने दावी गर्नुभयो । उहाँले आफू जहिल्यै कानूनको पक्षमा रहेको र गल्ती गर्नेलाई कारबाही हुनैपर्ने बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘म जहिल्यै कानूनलाई सम्मान गर्छु । गल्ती गर्नेलाई कारबाही हुनैपर्छ । मैले किन बचाउन लागिपर्छु र !’

उहाँले एउटाले गल्ती गर्दैमा समग्र निजी उद्योग व्यवसायीलाई एउटै डिब्बामा हाल्न नहुने तर्क गर्नुभयो । ‘हाम्रो बदनाम गर्न खोजियो, सबै निजी व्यवसायलाई प्रहार गरियो’–उहाँले भन्नुभयो– ‘हामीले गल्ती गर्नेलाई बचाउनुपर्छ भन्दैनौं र भनेका पनि छैनौं ।’

 

याे पनि हेर्नुहाेस

‘गल्ती एउटाको सजाय सबैलाई दिनु हुँदैन,’ सुलभ अग्रवाल प्रकरणले महावाणिज्यदूतको गरिमामा धक्का