जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल,तनहुँ ।

घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङ देउरालीमा सोमबार बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । नवलपुरको बौदिक कालिका गाउँपालिका–२ का २३ वर्षीया सञ्जु पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुखमा गम्भिर चोट लागेकी सञ्जुको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । नाक र मुखमा चोट लागी गम्भिर घाइते हुनुभएकी सोही ठाउँकी ५४ वर्षीया दिलमाया खत्रीको थप उपचारको लागि पोखरा पठाइएको लामिछानले बताउनुभयो ।

दुर्घटनामा परी सोही ठाउँका २६ वर्षीया सुनिता खत्री, ७ वर्षीय अभिषेक खत्री, ६ महिने बालक अनिल खत्री र सहचालक २१ वर्षीय सन्तोष परियार घाइते भएका छन् । उनीहरुको शुभलक्ष्मी मेडिकल भिमादमा उपचार भइरहेको डिएसपी लामिछानेले बताउनुभयो ।

बेलभञ्ज्याङ देउराली स्थित भित्री सडक खण्ड अन्तर्गत डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग१ज ७५०२ नम्बरको बलेरो जीप दुर्घटना भएको हो । बलेरो आफै अनियन्त्रित भई सडकबाट करिव २ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त बलेरोमा चालक सहित ७ जना सवार रहेको र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।