इटलीले लकडाउनलाई केही खुकुलो पार्ने

0
Shares

रोम । 

इटलीमा कोरोना भाइरसको सङ्क्रमण दर विस्तारै कम हुँदै गएको सङ्केत गर्दै प्रधानमन्त्री जिसेपे कोन्टीले आगामी मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरूलाई काममा फर्किन सक्ने बताउनुभएको छ ।

राष्ट्रिय टेलिभिजन च्यानलमार्फत् प्रशारण गरिएको भिडियोमा उहाँले भन्नुभयो, “शुरूमा अर्थात् मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरू काममा फर्किन सरकारले अनुमति दिने तयारी गरिरहेको छ । अहिलेकै अवस्था रहेमा त्यसपछि खुद्रा व्यापारी, रङ्गशाला, प्रदर्शन भवनहरू र लाइब्रेरीलाई मे १८ पछि खुला गरिनेछ भने बार, रेष्टुरेण्ट, सैलुन र श्रृङ्गार पसलहरूलाई जुन १ देखि खुला गरिनेछ ।”

प्रधानमन्त्रीले मे ४ पछि स्थानीय नागरिकलाई मास्कको प्रयोग गरेर आफ्ना आफन्त भेट्न पार्क तथा सार्वजनिक बगैँचाहरू खुल्ने बताउनुभएको छ । घरबाट करिब २०० मिटरन्दा टाढा जान मोटरसाइकलको प्रयोग गर्न र शारिरीक अभ्यासका लागि हिड्न खुला गरिने प्रधानमन्त्री कोन्टीले बताउनुभयो ।

राष्ट्रिय बन्दाबन्दीको घोषणालाई आगामी मे ३ पछि खुला गर्ने तर दोस्रो चरणका लागि फरक किसिमको नीति अवलम्वन गरिने उहाँले बताउनुभयो । उहाँले सङ्क्रमण बढी रहेको क्षेत्रमा आगामी केही समय नागरिकले कठिनाई परेपनि सहेर सरकारलाई सघाउन र आफ्नो व्यक्तिगत स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गर्नुभएको छ ।

मृतकका आफन्तले कम्तीमा १५ जनाको सहभागितामा अन्त्येष्टिमा सहभागिता जनाउन पाउने र सबै व्यक्ति, उद्योग तथा व्यवसायिक फर्महरूले कोरोनाभाइरसबाट बच्न सुरक्षा अनुशासनलाई पालना गर्नुपर्ने र त्यसो नगरेको पाइएमा आवश्यक कानुनी कारबाही हुने पनि प्रधानमन्त्रीले बताउनुभएको छ ।

अझैपनि कोभिड–१९ सङ्क्रमणको सुरक्षा खतरा व्याप्त रहेको छ त्यसैले सामाजिक दूरी कायम गर्ने, मास्क तथा पञ्जाहरूको प्रयोग गर्ने र अनावश्यक भिडभाडमा नजाने गर्नेजस्ता उपाय अवलम्बन गर्दै कोभिड–१९ विरूद्धको लडाईँमा सम्पूर्ण नागरिकको सहयोग अझै पनि केही समयका लागि सरकार तथा स्वास्थ्यकर्मीको अनुरोधलाई मानी सहकार्य गर्न उहाँले आग्रह गर्नुभएको छ ।

इटलीमा विगत २४ घण्टामा २६० जनाको मृत्यु भएको छ भने यो मार्चपछिको सबैभन्दा निम्न सङ्ख्या भएको यहाँको नागरिक सुरक्षा विभागले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । इटलीमा सोमबारसम्ममा २६ हजार ६४४ जनाको कोभिड–१९ को सङ्क्रमणका कारण भएको छ भने एक लाख ९७ हजार ६७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

इटलीमा पछिल्ला केही साता यता निको भएर घर फर्किनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । आइतबारसम्म इटलीमा ६४ हजार ९२८ जना निको भै घर फर्किएका छन् ।