जीवित र मृत्युको हल्लामा किम, कारोनाको डरले राजधानी बाहिर बसिरहेको दावी


प्योंगयांग, (एजेन्सी)

उत्तर कोरियाका नेता किम जाेंग उनको स्वास्थ्यलाई लिएर विश्वभरी नयाँ नयाँ अनुमान भइरहेको छ । जापान र हंगकंगबाट आइरहेको समाचारमा किम जोंग उनको स्वास्थ्य स्थिति अत्यन्त गम्भिर भएको उल्लेख गरिएको छ । तर दक्षिण कोरियाले किम स्वस्थ भएको बताइरहेको छ ।

विश्वको सबैभन्दा गोप्य मानिएको देश उत्तर कोरियालाई लिएर बाहिर आइरहेको परस्पर विरोधी समाचारबीच अब किम कोरोना भाइरसबाट डराएको र यो महामारीबाट बच्न कहीँ लुक्न गएको दावी गरिएको छ ।

बेलायतको अखबार डेली स्टारको समाचारमा उत्तर कोरियाली नेताका एक अंगरक्षक कोरोना संक्रमित पाएको उल्लेख छ । कोरोनाको खतरालाई ध्यानमा राखी किम जोंग उन सार्वजनिक जीवनमा नदेखिएका हुन् । किमको स्वास्थ्यलाई लिएर त्यतिबेला अनुमानहरु आउन थाले जब अप्रिल १५ मा आफ्ना हजुरबाको जयन्तीमा आयोजित कार्यक्रममा उनी देखिएका थिएनन् ।

किमलाई लिएर चलिरहेको अनुमानबीच चीनमा बस्दै आइरहेका एक उत्तर कोरियाली विशेषज्ञले भनेका छन् – नेताको सुरक्षा गर्ने सुप्रिम गार्ड कमान्डमा समस्याका कारण किम जोंग कार्यक्रममा सहभागी नभएको हो ।
सुत्रले किमका एक निजी सुरक्षा गार्ड कोरोना पोजिटिव पाइएको जनाएको छ । यो गार्ड किमको सुरक्षा दस्तामा सहभागी थिए ।

उत्तर कोरियाली सुरक्षा गार्डमा कोरोना पोजिटिव भेटिएपछि किमको सुरक्षा मात्र नभई उनी कोरोना संक्रमित हुन सक्ने खतरा उत्पन्न भएको थियो । यसअघि किम जोंग कोरोना भाइरसको डरले राजधानी प्योंगयांगबाट बाहिर देशको कुनै इलाकामा बस्न गएको समाचार आएको थियो । एक अपुष्ट समाचारमा उत्तर कोरियका १ सय ८० सुरक्षा गार्ड कोरोना भाइरसको सिकार भएको जनाइएको थियो ।

यसबीच दक्षिण कोरियाली राष्ट्रपतिका विदेश निति सल्लाहकार चुंग इन मुनले किम जीवितै र स्वस्थ रहेको बताएका छन् । सीएनएनले एक स्रोतलाई उदृत गर्दै किम मुटुको सल्यक्रियापछि बे्रन डेड भएको उल्लेख गरेको थियो । तर मुनले किमका विषयमा कोरियाली सरकारको धारणामा कायम रहेको बताए ।
मुनले भने – किम जोंग उन जीवित छन् र स्वस्थ छन् । उनी अप्रिल १३ देखि देशको वोनसन क्षेत्रमा बसिरहेका छन् । उनले फोक्स न्युजलाई भने – अहिलेसम्म कुनै संदिग्ध गतिविधि देखिएको छैन ।

यी सबै अनुमानहरुले बजार लिइरहेको बेला उत्तर कोरियाली सरकारी अखबार रोडोंगले आइतबार प्रकाशित समाचारमा किमले समजियोन शहरलाई कायापलट गर्न काम गरिरहेका कामदारहरु प्रति आभार ब्यक्त गरेको उल्लेख गरिएकोछ ।

वास्तवमा हंगकंगको स्याटलाइट टीभीका उप निर्देशक शिनजान झिंगजउले नै किमको मृत्यु भइसकेको दावी गरेका थिए । किम अप्रिल ११ पछि सार्वजनिक भएका छैनन् । त्यतिबेला सत्तारुढ वर्कस पार्टी कमिटीको बैठक थियो । त्यहीबेला दक्षिण कोरिायाली अखबार डेली एनकेले पनि किमको मुटुको शल्यक्रिया भएको समाचार दिएको थियो ।

किम धेरै धुमपान गर्ने र आवश्यक भन्दा धेरै काम गर्ने भएकोले विरामी भएको अखबारले जनाएको थियो । उनको हयांगसान काउन्टीमा उपचार भइरहेको अखबारले दावी गरेको थियो ।