लकडाउन हटेपछि उहानमा विवाह गर्नेको भिड


उहान, (एजेन्सी)

कोभिड–१९ महामारी र लकडाउनले विश्वमै मानव जीवनलाई अस्तव्यस्त बनाइरहेको छ । महिनौं बितिसक्दा पनि परिस्थितिमा खासै सुधार आएको देखिएको छैन, औषधि वा खोप त धेरै परको कुरा भइरहेको छ ।

यद्यपि कोरोना भाइरसको उद्गम मानिएको उहान शहरबाट ७६ दिनको लकडाउन हटेपछि भने त्यहाँको जनजीवन सामान्य हुने तर्खरमा देखिएको छ । त्यसैले पनि होला यहाँका युवाहरुमा विवाहको होड नै चलेको छ । विवाह दर्ता कार्यालय र विवाहको तस्वीर खिच्ने स्टुडियोमा हालैका दिनमा भिडभाड देखिएको छ । उहान त्यही शहर हो जहाँबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वमा २ लाखभन्दा बढीको ज्यान लिइसकेको छ ।

लकडाउनपछिका कुनै पनि दिन विवाहका लागि राम्रो मानिएको चाइना डेलीले जनाएको छ । अविवा वेडिङ फोटोग्राफी स्टुडियोले मंगलबार आफ्नी प्रेमिकासँग बुकिङका लागि आएका ल्यु जिंगले भने– ‘मेरी प्रेमिका अहिले पनि विवाहका लागि तिथि खोजिरहेकी छन्, तर म अब उनीसँग तत्काल विवाह गर्न चाहन्छु । यदि हामी लकडाउनमा सँगै रहन सक्छौं भने हामी पूरै जिन्दगी साथ रहन सक्छौं ।’

उहानमा जोडीले विवाहका लागि जनवरीमै बुकिङ गरेका थिए र मार्चमा विवाद पञ्जीकरण कार्यालयमा जाने फैसला लिएका थिए । तर लकडाउनका कारण त्यस्तो हुन सकेन । यहाँ जनवरी २३ देखि नै लकडाउन घोषित गरिदिएको थियो । यद्यपि जिङका प्रेमिका चेन सीलाई फोटो सेसनका क्रममा सुरक्षाको चिन्ता भइरहेको छ, किनभने उनी सम्भवतः मास्कमा फोटो लिने छैनन् । यदि कोही भाइरस संक्रमित हो भने स्थिति कठिन हुन सक्छ । चेनले बाहिर हुने सुटिङको अवधि पनि घटाएर दुई दिनबाट एक दिन गरेकी छन् ।

फोटोग्राफी स्टुडियोका म्यानेजर गुओ जियोफेन भन्छन्– ‘लकडाउनपछि विवाहको फोटोका लागि माग धेरै बढेको छ, किनभने जसको विवाह छिनिएको थियो उनीहरु अब विवाह गरिरहेका छन् । तर हामी एक दिनमा मात्र दुई वा तीन जोडीलाई मात्र सेवा दिइरहेका छौं, जुन पहिला एक दिनमा १६ जोडीसम्मलाई सेवा दिने गथ्र्यौंै ।’

फोटो स्टुडियोले उहानको ल्यान्डमार्कमा सुटिङ फैसला रद्द गरेको छ, किनभने त्यहाँ धेरै भिड हुन्छ भन्ने उनीहरुलाई लागेको छ । केही भने आफ्नो विवाहलाई कोरोनाविरुद्धको लडाइँको रुपमा स्मरणीय बनाउन चाहन्छन् ।

२९ वर्षीय लियु जेम्बु हुबेइ प्रान्तको जिङमेनबाट उहान तीन घन्टाको यात्रा गरी पुगे र चुपचाप दुई प्रोटेक्टिभ सुट पनि लिएर आएका थिए, ताकि उनीहरुसँगै फोटो खिचाउन सकून् । यस विषयमा उनले आफ्नी प्रेमिकालाई बताएका थिएनन् । लियुले कोरोनाको संक्रमणका बेला स्वयंसेवा गरेका थिए ।