लकडाउनमा एक हजार २६८ सवारी आवागमन,‘स्वास्थ्य परिक्षण र होम क्वारेन्टाईन’मा जोड


मोतीराम तिमल्सिना,काभ्रे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अलपत्र परेका नागरिकहरुको उद्धार र राहत प्रदेश र स्थानीय सरकारहरुको समन्वयमा गर्न निर्देशन दिए लगत्तै राजधानी तथा अन्य जिल्लामा रहेका नागरिकहरु पालिकाहरुमा फर्किएसँगै स्थानीय प्रशासनले अभिलेख राखी स्वास्थ्य सुरक्षामा ध्यान दिन स्थानीय सरकारलाई अनुरोध गरेको छ ।

कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा गठित जिल्ला कमाण्ड पोष्ट काभ्रेले सबै स्थानीय तहहरुलाई अन्यत्र जिल्लाबाट फर्किएका नागरिकहरुको स्वास्थ्य परिक्षण गर्न र त्यस्ता नागरिकहरुकलाई अनिवार्य होम क्वारेन्टाईनमा राख्ने ब्यवस्था मिलाउन सबै पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

‘नागरिकहरुको सुरक्षालाई ध्यान दिदै संक्रमण फैलन नदिन स्थानीय सरकारहरुलाई अन्यत्र जिल्लाबाट आएका नागरिकहरुको स्वास्थ्य परिक्षण र होम क्वारेन्टाईनमा राख्ने ब्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेका हौ’–प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भन्नुभयो–‘अन्यत्र जिल्लाबाट फर्किएका नागरिकहरुको अभिलेख राख्न समेत अनुरोध गरेका छौं ।’ जिल्लामा दैनिक ३/४ नागरिकहरु फर्किरहेको स्थानीय सरकारका प्रमुखहरुले बताएका छन् ।

कमाण्ड पोष्ट काभ्रेले जिल्लामा रहेका एम्बुलेन्सहरु मध्ये केहि कोरोना भाईरसको संक्रमण भएका विरामीहरुलाई अस्पतालसम्म ल्याउन तथा यस्ता विरामीहरु ओसारपसार गर्न प्रत्येक पालिकाले एक एक घण्टा एम्बुलेन्स तयारी अवस्थामा राख्ने र एम्बुलेन्स कोरोना भाईरस फ्रेण्डली बनाउन अनुरोेध गरिएको भए पनि हालसम्म त्यस्तो नभएकाले कोरोना भाईर नसर्ने खालको बनाउन अनुरोध गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

पालिकाहरुले नागरिक भित्र्याउँदा थर्मल गन मार्फत ज्वरो जाँच गरे पनि सबैको सम्भव छैन । कति नागरिक आफ्नो पालिका भित्र भित्रिए भन्ने तथ्याङ्क समेत राख्न सकिएको छैन । नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले लकडाउन अवधीमा नगरपालिका भित्रिएका नागरिकहरु सुरक्षित भएर घर भित्र बस्न अनुरोध गरिएको बताउनु भयो ।

रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले चैत्र महिना र फागुन महिनामा विदेशबाट आउनेहरुको अभिलेख संकलन गरी परिक्षण गर्दा सहज भएकाले अन्य जिल्लाबाट गाउँ फर्किएकाहरुको तथ्याङ्क राख्न जिल्ला प्रशासन कार्यालयले गरेको अनुरोधलाई कार्यान्वयन गरी नागरिकहरुलाई होम क्वारेन्टाईनमा राख्ने बताउनु भयो ।

१ हजार ९० सवारी साधन बाहिरिए

सरकारले जन्मथलो जान चाहने ब्यक्तिहरुका लागि स्थानीय सरकारको समन्वयमा लैजाने ब्यवस्था मिलाउन निर्देशन दिए लगत्तै पछिल्लाृ पाँच दिनको अवधीमा स्थानीय सरकार, विभिन्न सघ संस्थाहरुको सहयोगमा राजधानीबाट विभिन्न जिल्लाहरु सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, ओखलढुंगा, धनुषा, सुनसरी, झापा, सर्लाहि, महोत्तरी, सप्तरी, उदयपुर, खोटाङ्ग लगायतका जिल्लामा १ हजार ९० वटा साना ठुला सवारी साधनबाट बाहिरिएका छन् ।

विपी र अरनिको राजमार्ग प्रयोग गरी बाहिरिनेहरुको संख्या विस्तारै कम भएको छ । ९ सय २१ वटा बस, ८५ वटा हायस र माईक्रो, ८४ वटा सुमो मार्फत नागरिकहरु बाहिरिएका हुन् । यस अघि लकडाउनको अवधीमा दैनीक ४/५ सयको संख्यामा नागरिकहरु पैदल मार्फत गन्तब्य पुगेका थिए ।

बाहिरी जिल्लाबाट काभ्रे फर्कनेहरुको तथ्याङ्क एकिन नभए पनि प्रहरीले १ सय ७८ वटा सवारी साधन भित्रिएका छन् । तथ्याङ्कका नभएका सवारी साधनहरुबाट भित्रिनेहरुको संंख्या एकिन छैन । तथ्याङ्क एकिन नभएका कारण स्थानीय सरकारहरुलाई महामारी नियन्त्रणमा कठिन हुने सम्भावना तर्फ जोगाउन अभिलेख संकलन र स्वास्थ्य परिक्षणका लागि प्रशासनले पनि अनुरोध गरेको छ ।