रुखबाट लडेकी महिलाको उद्धार


बाजुरा, (नेस)

रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी एक महिलाको थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको छ ।
बडीमालिका नगरपालिका–८ की धनमति रावललाई शनिबार बिहान नेपाली सेनाको एन ए. ५५ नंको हेलिकोप्टरले उद्धार गरी सुर्खेत हुँदै काठमाडौं पु¥याएको नेपाली सेना समरजित गुल्मका गुल्मपति रवीन श्रेष्ठले जानकारी दिनुभएको छ । मार्तडीबाट सुर्खेत हेलिकोप्टरमा र सुर्खेतबाट प्लेन चर्टर गरी काठमाडौं पठाइएको हो ।

उपचारका लागि जिल्ला अस्पताल बाजुरामा भर्ना भएकी धनमति रावललाई काठमाडौं रिफर गरेको भए पनि आर्थिक समस्याले अस्पतालको बेडमा छटपटाएकी थिइन् । उनका श्रीमान् शेरबहादुर रावल, वडाअध्यक्ष प्रकास रावल, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहलगायतका स्थानीयले सम्बद्ध निकायमा अनुरोध गरेका थिए । बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको पहलमा गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेको हो ।

घाइते रावलको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका लागि जिल्ला अस्पताल बाजुराले रेफर गरेको छ । धनमति परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचार गर्नमा समस्या भएकाले राज्यबाट सहयोगको अपेक्षा गरेको बताइएको छ ।