छोराले जिते, बाबु थला परे


नेपाल समाचारपत्र,काठमाडौं

शुक्रबार कोरोना संक्रमण प्रमाणित भएका झापा दमक नगरपालिका–३ का ६२ वर्षीय बृद्धका छोरा विदेशबाट आएको प्रमाणित भएको छ । स्थानीय निकायको रेकर्डअनुसार संक्रमित बृद्धका छोरा ३४ दिनअघि मात्र दुबईबाट नेपाल आएका थिए ।

चैत्र ७ गते दुबईबाट नेपाल फर्किएका ३४ वर्षीय युवाका बाबुमा भने शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि मात्र स्वाब परीक्षण गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउनुले पनि कोरोना संक्रमित गाउँगाउँमा पुगेका र परिवारमा सार्दासमेत परीक्षणको पहुँचमा आइनपुगेको प्रमाणित हुन्छ ।

नेपाल सरकारले चैत्र महिनामा विदेशबाट आएका हरेक नागरिक र कोरोना संक्रमितको सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्न आह्वान गरिरहँदा पनि ती युवाले भने अहिलेसम्म परीक्षण नगरी घरमै बस्नुले बृद्ध बाबुलाई कोरोना सरेको आशंका गरिएको छ । युवालाई भने अहिलेसम्म कुनै संकेत नदेखिए पनि आरडिटी टेस्ट पोजेटिभ देखिएको छ । यो आधारमा उनलाई दुबईमा भाइरस सरिसकेको हुन सक्ने अनुमान चिकित्सकहरुले गरेका छन् ।

आरडीटी परीक्षणमा युवा, उनको बुबा, आमा र श्रीमती सबैको पोजेटिभ देखिएको थियो । तर पीसीआर (स्वाब) परीक्षण बृद्ध बाबुको मात्र पोजेटिभ आएको र अरु सबैको नेगेटिभ आएकाले युवामा रोगसँग लड्न सक्ने क्षमता भएकै कारण अहिलेसम्म कुनै संकेत नदेखिएको अनुमान चिकित्सकहरुको रहेको छ ।
आरडीटीमा पहिला संक्रमण भइसकेको व्यक्तिको पनि पोजेटिभ देखाउने स्वास्थ्यकर्मीले जनाएका छन् । तर यो स्वास्थ्य विज्ञानका क्षेत्रमा निकै गम्भीर र अनुसन्धानकै विषय हो ।

पूरै परिवारलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्वारेन्टाइनमा राखी थप अनुसन्धान गर्नुपर्ने कुरामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । उक्त घरमा संक्रमण पुष्टि भएका बृद्धकी सासू १५ दिनअघि मृत्यु भई बृद्धकी श्रीमतीले काजकिरिया गरेको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले मिडियासमक्ष सार्वजनिक गर्नुभएको छ ।

उक्त घरमा आफन्त नातागोतालगायत छरछिमेकीसमेत बाक्लो आवतजावत भएकाले थप कन्ट्याक ट्रेसिङ गर्न मेयर ओलीले सुझाव दिनुभएको छ । ओलीले भन्नुभएको छ– ‘आफू यस विषयमा चिन्तित र जिम्मेवार भएकाले जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरी कम्तिमा १ सय जनाको हाराहारीमा कन्ट्याक ट्रेसिङ थाल्दै छौं ।’

विदेशबाट फर्कनेहरुको घर खोज्दै यही वैशाख ११ गते तथ्यांक संकलन गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी ती युवाको घर पुगेका थिएनन् भने अझै पनि त्यो परिवारले स्वास्थ्य परीक्षण गराउने थिएन । प्रहरीले उक्त परिवारका सबैको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि भोलिपल्ट स्वाब संकलन गरेकै कारण बृद्धमा कोरोना पुष्टि भयो ।

अझ मावली हजुरआमाको के कारणले मृत्यु भयो र मलामी जानेहरु कोको थिए भन्ने बारेमा पनि कन्ट्याक ट्रेस गरी अनुसन्धान गर्नु जरुरी छ । एक जना युवा गैरजिम्मेवार बन्दा परिवार मात्र हैन समाज र गाउँ, टोल, देश नै कोरोनाको महामारीको सिकार नबनोस् भन्दै यतिबेला स्थानीय निकायले सक्रियताका साथ काम अघि बढाइसकेको मेयर ओलीले सार्वजनिक रुपमै बोली सक्नुभएको छ ।