कोराना संक्रमितको स्वास्थ्य अवस्था सामान्य


काठमाडौं, (नेस)
कोरोना संक्रमणको संख्या बढेसँगै नेपालमा निको हुनेको संख्यामा पनि वृद्धि भएको छ । समयमै परीक्षण गरी रोग पहिचान र उपचारमा ध्यान दिन सके कोरोना लाग्नेबित्तिकै मान्छे मर्दैन निको हुन्छ भन्ने सन्देश दिइरहेको छ ।

पछिल्लो समय वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज हुने तयारीमा पुगेका छन् । परीक्षण रिपोर्ट नेगेटिभ आएकाले चारै जनालाई आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभएको छ ।

तीन जना वीरगन्जको मस्जिदमै ज्वरो आएर परीक्षणका लागि नारायणी अस्पतालमा पुग्दा उनीहरुलाई कोरोना संक्रमण भएको प्रमाणित भएको थियो भने एक जनालाई रौतहटबाट उपचारका नारायणी अस्पताल लगिएको थियो । चारै जना भारतीय नागरिक भएका कारण पर्साका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर मात्र डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ । उनीहरुको डिस्चार्जपछि कोरोना संक्रमित दुई दिनअघि जनकपुरबाट वीरगंज ल्याइएका १४ वर्षे बालकको भने उपचार जारी छ ।

नेपालमा कोरोना संक्रमण पुष्टि भएका ४९ मध्ये ११ जनाको डिस्चार्ज भइसकेको छ । हाल वीरगंजका ४ जनासहित ३८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल सरकारले समयमै लकडाउन गर्नुका साथै परीक्षणलाई तीव्रता दिनुका साथै उपचारमा सक्रिय भएकै कारण अहिलेसम्म कुनै पनि संक्रमित जटिल अवस्थामा पुगेका छैनन् ।