गौशाला–चावहिल सडकको समस्या हट्दै


नेपाल समाचारपत्र, काठमाडौं

मुलुकभर जारी लकडाउनको सदुपयोग गर्दै काठमाडौंका विभिन्न सडकको स्तरोन्नतिको बाँकी काम सम्पन्न गर्नेतिर सडक विभाग लागिरहेको छ ।
लकडाउनका अवधिमा सडकमा थोरै सवारी गुड्ने मौका छोपेर सडक स्तरोन्नतिको कामलाई अगाडि बढाएको हो ।

यस अवधिमा काठमाडौं, ललितपुर र भक्तपुरको सडकको स्तरोन्नति हुन बाँकी सडकको काम हुन लागेको विभागले जनाएको छ ।
विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले सरकारले निर्देशनसहित सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिई काम भइरहेको जानकारी दिनुभयो ।

‘भएका थोरै जनशक्तिलाई परिचालन गरी काम भइरहेको छ । सरकारको निर्देशन आएसँगै सामाजिक दूरी कायम गरी उपयुक्त सुरक्षा अपनाएर काम गर्ने गरिएको छ’ –उहाँले भन्नुभयो ।

लकडाउन अघि स्तरोन्नति गरिएका सडकमा मार्किङको काम गरेको र स्तरोन्नतिको बाँकी काम पनि पूरा गर्नतिर लागिपरेको उहाँको भनाइ छ ।
मुख्य गरी विभागले चक्रपथको गौशाला–चावहिल सडकखण्डलाई स्तरोन्नति गर्ने काम सम्पन्न गर्ने सोच बनाएको छ ।

चक्रपथको करिब १५ सय मिटर रहेको उक्त सडक खण्डमा खानेपानीका पाइप फुटेर कालोपत्रे सडक बिगारेको छ । जसले गर्दा सडकमा यात्रा गर्ने यात्रुलाई सडकमा बनेको खाल्डाखुल्डी हिलो र धूलो धूवाँले कष्टकर बनाएको छ ।

यस सडकको स्तरोन्नति गर्ने काम यहि असारभित्र सम्पन्न गर्ने गरी सडक विभागसहित डिभिजन सडक कार्यालय काठमाडौं लागिरहेको छ । त्यसखण्डमुनि राणाकालदेखिका पुरानो पाइपलाइन रहेकाले सधैं समस्या बनिरहेको छ । जसले गर्दा त्यहाँ जहिले पनि सडक स्तरोन्नतिमा कठिनाइ भइरहेको विभागले जनाएको छ ।
पाइपलाइन व्यवस्थापन गर्न समन्वय गरी कामसमेत भइरहेको विभागले जनाएको छ । अहिले त्यहाँ केयूकेएलले पाइप मर्मतको काम गरिरहेको छ । सो खण्डमा स्तरोन्नति गर्न निर्माण सामग्री काभ्रेबाट ल्याउन समन्वय भइरहेको विभागका उपमहानिर्देशक सापकोटाले बताउनुभयो ।

यस सडक स्तरोन्नतिको जिम्मा कालिका÷बेदाङसी जेभीलाई छनोट गरिएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । ‘अहिले गौशाला–चावहिल सडकसहितको उपत्यकाको सडक स्तरोन्नतिका लागि ठेकेदार तयारी रहे पनि निर्माण सामग्री, मजदुर, सवारीसाधन मर्मत गर्ने वर्कसप सबै कुराको चाँजोपाँजो मिलाउनुपर्ने भएकाले समन्वय भइरहेको छ’– उपमहानिर्देशक सापकोटाले बताउनुभयो ।

विभागले स्तरोन्नतिमा विशेष गरी सडकलाई ओभरले गर्दै आइरहेको छ । यस अवधिमा विभागले असारसम्म सम्पन्न गरिसक्नुपर्ने सडक र नगरी नहुने सडकलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ ।

विभागले त्रिभुवन विमानस्थल–गौशला खण्ड, थापाथली त्रिपुरेश्वर खण्ड, पुतलीसडक, मित्रपार्क कालोपुल, दरबारमार्गलगायतका स्थानमा ओभर लेयर गर्ने गरी काम अगाडि बढाएको छ । ओभर लेयरसँगै सडक जेब्राक्रसिङ, सेन्ट्रल लाइन तान्ने, पेन्टिङलगायतका काम सँगसँगै अघि बढाइएको विभागले जनाएको छ ।