नगरपालिकाहरुद्वारा निःशुल्क बिउ बितरण, सूर्यविनायकमा जमिन बाँझो राख्न नपाइने

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

भक्तपुर नगरपालिकाले नगरका पाँच हजार ९०९ कृषकलाई खुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको छ । नोवेल कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनलाई ध्यानमा राख्दै नगरपालिकाले नगरका १ देखि १० सम्मका सबै वडाकार्यालय मार्फत प्रतिपरिवार २ केजी ५०० ग्राम अर्थात एक पाथी धान निःशुल्क वितरण गरेको हो ।

भक्तपुर नगरपालिकाका विभिन्न वडाहरुले स्थानीय स्वयम्सेवक परिचालन गर्दै वडा कार्यालय र घरदैलो गरी कृषक परिवारलाई धानको बीऊ वितरण गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

त्यसैगरी चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रका किसानहरुलाई ५० प्रतिशत अनुदानमा मकै, भट्मास, धान, कोदो, फापरलगायतको बिउ वितरण सुरु गरकोे छ । लकडाउनका बेलामा कृषकलाई सहज रुपमा बिउ उपलब्ध गराउने लक्ष्यका साथ नगरपालिकाले सबै किसानका लागि वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालयबाट कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिउ बितरण सुरु गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

नगरपालिकाले पहिलो चरणमा मनकामना–३ जातको मकै र भट्मासको बिउ वितरण सुरु गरेको छ । बिउ वितरणका लागि नगरपालिकाले एक हजार १०० किलो मकै प्रति किलो रु. १३० मा खरिद गरेर ल्याएको र किसानलाई ५० प्रतिशत अनुदानमा मकै र भटमासको बिउ वितरण गर्न सुरु गरेको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो ।

नगरपालिकाले दोश्रो चरणमा धानको बिउ वितरण गर्ने भएको छ । यसका लागि खुमल–१० र खुमलटार टाईचिन–२४२ जातको १० टन धानको बिउ यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने नगर प्रमुख मिश्रले जानकारी दिनुभयो । प्रतिकिलो रु. १०० मा खरिद गरेको धान किसानलाई प्रतिकिलो रु. ५० मा वितरण गरिने भएको छ भने दलित, जनजाती तथा लक्षित वर्गलाई कोदोको बिउ २०० किलो र फापरको बिउ २०० किलो निःशुल्क वितरण गर्ने भएको छ ।

त्यसैगरी अब सूर्यविनायक नगरपालिकामा कसैले पनि जग्गा बाझो राख्न नपाउने भएका छन् । नगरपालिकाले यसवर्षदेखि जग्गा बाझो राख्नेलाई कारबाही गर्ने नीति लिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । त्यस्तै सूर्यविनायक नगरपालिकाले पनि आफ्ना नागरिकका निःशुल्क बिउ वितरण गर्ने भएको छ ।

गतसाल पनि तरकारी र धानको बिउ निःशुल्क वितरण गरेको नगरपालिकाले यसवर्ष पनि निःशुल्क बिउ वितरण गर्ने भएको हो । लकडाउनले किसानले बिउ खरिद गर्न समेत नपाएको अबस्थामा नगरपालिकाले बिउ निःशुल्क वितरण गर्ने तयारी गरेको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।