सञ्चारकर्मी र सञ्चारमाध्यमलाई राहत प्याकेजको व्यवस्था गर्न माग

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

लोकतान्त्रिक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले जारी लकडाउन र कोरोना भाइरसको संक्रमणको महामारीले निम्त्याएको संकटमा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।लकडाउनका कारण नेपाली सञ्चारक्षेत्रमा गम्भीर समस्या सिर्जना भएको, संचारकर्मीहरुलाई समयमै तलब उपलब्ध नगराइदा समस्या भएकाले राहत प्याकेजको माग गरिएको हो ।

शुक्रबार युनियनका अध्यक्ष बद्री सिग्देलले एक विज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार, कामदार र कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने, बेतलवी बिदामा बस्न निर्देशन दिने गरेको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै त्यसप्रति गम्भीर भइदिन माग गरेका हुन ।

नागरिकलाई हरपल सूचना प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न पनि सरकारसंग विज्ञप्तिमार्फत नै माग गरिएको छ । यस्तो संकटको अवस्थामा समयमा सञ्चारकर्मीहरुलाई तलब उपलब्ध नगराउँदा दैनिक गुजारा चलाउन कठिनाई हुनु र जागिरबाट हात धुनुपर्ने अवस्था सिर्जना हुनु सञ्चारक्षेत्रका लागि निकै दुखद पक्ष रहेको प्रेस युनियनको ठहर छ ।

‘सञ्चार प्रतिष्ठानहरुले नै यसरी पत्रकारहरुलाई जागिरबाट निकाल्ने हो भने, लम्बिदै गएको लकडाउनका कारण भोली अन्य उद्योगहरुले श्रमिकलाई कामबाट निकालेका समाचार सञ्चारमाध्यमहरुले सम्प्रेषण गर्ने नैतिकता कहाँ रहला रु’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, मोफसल र दुरदराजमा रहेर सूचना प्रवाह गरिरहेका स्वरोजगारमूलक पत्रपत्रिका, एफएम रेडियो, अनलाइन मात्र होइन शहर बजारबाट संचालिन साना ठूला संचारगृहमा लकडाउनका कारण समस्यामा परेकाले यसविषयमा पनि सरकार गम्भिर बन्नुपर्ने माग युनियनले राखेको छ । समस्यामा रहेका संचारकर्मी र संचारगृहहरुलाई युनियनले केन्द्रीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति र प्रतिष्ठान समितिहरुलाई सम्पर्क गर्न आग्रह गर्दैै सक्दो सहयोग गर्ने समेत जनाएको छ ।