किमको उपचारका लागि चिनियाँ डाक्टरको टोली उत्तर कोरिया प्रस्थान

0
Shares

बेइजिंग (एजेन्सी) ।

उत्तर कोरियाली नेता किम जोंग उन गम्भिर विरामी भएको खबरका बीच चीनबाट डाक्टरहरुको एक टोली उत्तर कोरिया पठाइएको समाचार पनि बाहिर आएको छ ।

यसले किम जोंगको स्वास्थ्य स्थिति कति खराब छ भन्ने विषयमा धेरै अनुमान भइरहेको छ । तर यस विषयमा कुनै आधिकारिक जानकारी आएको छैन । यद्यपी केही दिन अघि मुटुसम्बन्धी समस्याका क्रममा शल्यक्रिया पछि किमको स्वास्थ्य धेरै विग्रेको समाचार आएको थियो ।

पछिल्लो जानकारीमा चीनले उत्तर कोरियाका लागि स्वास्थ्य विज्ञहरुको एक टोली पठाएको छ । उक्त टोली किम जोंग उनको स्वास्थ्य उपचारमा सल्लाह दिन पठाईएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । कम्प्युनिस्ट पार्टीको इन्टरनेसनल रिलेसन डिपार्टमेनटका एक वरिष्ठ सदस्यको नेतृत्वमा बेइजिंबाट कोरियाका लागि उक्त टोली पठाइएको रोयटर्सले जनाएको छ ।

यसअघि दक्षिण कोरियाको एक सुत्रले किम जोंग उन जीवितै रहेको र चाँदै सार्वजनिक हुने बताएको थियो । किमको स्वास्थ्य स्थिति ठीक नभएको तर त्यसको अर्थ उ धेरै नै अस्वस्थ र सार्वजनिक हुन नै नसक्ने स्थिति नभएको उक्त सुत्रले जनाएकोछ । यसअघि किम जोंग उन शल्यक्रियापछि अत्यन्तै अस्वस्थ भएको समाचार बाहिर आएको हो ।

किम विरामी भएको समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पले पनि प्रतिक्रिया दिएका थिए । ट्रम्पले किम विरामी हो वा होइन भन्ने विषयमा पुष्टि वा खन्डन दुबै गरेको थिएन । उनले भनेका थिए, यो समाचार आइरहेको हो, मलाई केही थाहा छैन , म उनका लागि कामना गर्छु ।

किम जोंग आफना हजुरबुबाको जन्मदिनमा आयोजित कार्यक्रम अप्रिल १५ मा पनि सार्वजनिक देखिएका थिएनन् ।