हलेसी तुवाचुङले काठमाण्डौंमा रहेका १३ सय सर्वसाधारण भित्र्यायाे

0
Shares

रामधन राई, खोटाङ ।

खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले काठमाण्डौंमा रहेका करिव १३ सय सर्वसाधारणलाई आफ्नो नगर भित्र्याएका छन् । विभिन्न कामको सिलसिलामा काठमाण्डौंमा बसिरहेको अवस्थामा गरिएको लकडाउनका कारण समस्यामा परेका नगरवासीलाई नगरपालिकाले बसको व्यवस्था गरेर बुधवारदेखि घर ओसार्न थालेका हुन् ।

बुधबार साँझ काठ्माण्डौंबाट १२ वटा बसमार्फत पठाइएका ५ सय ८६ सर्वसाधारण बिहिबार घरसम्म पु¥याईएको थियो । यस्तै, विहिवार साँझ काठमाण्डौंवाट १४ वटा वसमार्फत ७ सय वढी नागरिकलाई पठाईएको मेयर इवन राईले बताउनुभयो ।

बसिरहेको ठाउँमा दैनिक आयमुलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको अवस्थामा समस्यामा परेको गुनासो आएकाले उनीहरुलाई होम क्वारेन्टाईनमा राख्ने गरी नगरपालिकाले घरसम्म ल्याउने व्यवस्था मिलाएको हो ।

११ वडा रहेको नगरपालिकाले खोटाङ यातायात प्रालिसँगको सहकार्यमा सर्वसाधारण ओसार्न शुरु गरेको मेयर राईको भनाई छ । लकडाउनका क्रममा अन्य पालिकाका सर्वसाधारण आफैले बस रिजर्भ गरेर जयराम नाका प्रवेश गरेको नगरपालिकाले जनाएको छ । बिहिबार अन्य स्थानीय तहका ७४ सर्वसाधारण जिल्ला प्रवेश गरेको मेयर राईले जनाउनुभयो ।

काठ्माण्डौंबाट नगरपालिका प्रवेश गर्ने सर्वसाधारणलाई जयरामघाटमा स्वास्थ्य परीक्षण सँगै १४ दिनसम्म होम क्वारेन्टाईन वा नगरपालिकाले तोकेको क्वारेन्टानमा बस्ने लगायतका १० बुँदे कबुलियतनामा गराइरहेको छ । क्वारेण्टाईनमा वसेको समयमा पालना गर्नुपर्ने आचारसंहितामा समेत सहिछाप गराएर मात्र नगर प्रबेश गराईने जनाईएको छ ।

नगरबासीलाई घर पठाउनका लागि काठ्माण्डौंबाट युवा नेता रमेश पौडेल, जितेन्द्र ठकुरी, राजबिक्रम चाम्लिङ, दयाराम राई लगायतले समन्वय गरिरहेका छन् ।

उदयपुरमा ठूलो संख्यामा कोरोना भाइरसबाट संक्रमित नागरिक फेला परेपछि नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले बैशाख ८ गतेदेखि खोटाङ प्रवेश गर्ने र बाहिरिने नाका हप्ता दिनका लागि बन्द गर्ने निर्णय गरेका थियो ।

तर, हाल जिल्ला प्रवेश गर्ने नाकाबाट सर्वसाधारण भित्रिन छाडेका छैनन् । जयराम नाकाबाट रातको २/३ बजेसम्म सर्वसाधारण भित्रिने गरेको हलेसी तुवाचुङ नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।