ग्रिनकार्डसम्बन्धी आदेशपत्रमा ट्रम्पको हस्ताक्षर

0
Shares

वासिंगटन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनकार्ड अनुमोदन केही समयका लागि बन्द गराउन एउटा कार्यकारिणी आदेशपत्रमा हस्ताक्षर गरेका छन् ।
थुप्रै अपवादसहितको यो कदम आगामी ६० दिनका लागि निर्धारण गरिएको भए तापनि समयसीमा लम्बिन सक्ने ट्रम्पले बताएका छन् ।

ट्रम्पले कोरोना भाइरस महामारीको कारण अर्थतन्त्र तहसनहस भइरहेका बेला अमेरिकी कामदारहरुका रोजगार रक्षाका लागि यो कदम चालिएको बताएका छन् । समीक्षकहरुले भने उनलाई चुनावको समय आफँले बनाएका आप्रवाससम्बन्धी कडा नीतिहरुलाई महामारीको मौका छोपेर प्रयोग गरेको आरोप लगाएका छन् ।

बुधबार व्हाइट हाउसमा कोरोना भाइरससम्बन्धी नियमित प्रेस ब्रिफिङका क्रममा ट्रम्पले भनेका छन्–‘अर्थतन्त्र पुनः खुल्नासाथ जुनसुकै पृष्ठभूमिका भए पनि अमेरिकी नागरिकलाई रोजगारीको पहिलो प्राथमिकतामा राख्ने उद्देश्यले यो कदम चालिएको हो ।’

यस नीतिले ग्रिनकार्ड होल्डरले आफ्ना परिवारका अन्य सदस्यलाई अमेरिकामा स्थायी बसोबासका लागि स्पोन्सर गर्न रोक लगाउने भएको छ । राष्ट्रपति ट्रम्पले यस्तो स्पोन्सरसिपलाई बसाइँसराइको शृंखला पनि भन्ने गरेका छन् । तर यो नीति अमेरिकी नागरिकका पति वा पत्नी र २१ वर्षमुनिका अन्य देशमा रहेका सन्तानमाथि भने लागूनहुने बताइएको छ ।

यही आदेषाज्ञाअनुसार प्रत्येक वर्ष पचास हजारको संख्यामा ग्रिनकार्ड जारी गर्ने डाइभर्सिटी भिसा लोटरी पनि रोकिएको छ । साथै पहिलेदेखि नै अमेरिकामा बसोबास गर्दै काम गरिआएका तथा अहिले आएर डाक्टर, नर्स वा अन्य स्वास्थ्यसम्बन्धी सेवामा प्रवेश गर्न चाहने हजारौं ग्रिनकार्ड आवेदकमाथि पनि नयाँ नीति लागू नहुने बताइएको छ ।

त्यसैगरी एच–१ बी भिसा कार्यक्रमअन्तर्गत खेतमा काम गर्न र दक्ष कामदारका रुपमा हरेक वर्ष अस्थायी भिसाका लागि प्रयास गर्ने हजारांै व्यक्तिलाई पनि छुट दिइनेछ । तर अर्को कुरा महामारीका कारण कन्सुलेटहरु बन्द रहेका छन् भने विदेश विभागबाट गर्ने भिसासम्बन्धी कामकाज पनि हप्तौंदेखि रोकिएका छन् ।