जिल्ला बाहिरबाट तरकारी ल्याउने गोदाम सिल

0
Shares

मिला दरै,तनहुँ । 

कोराना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन र रोकथामका लागि जिल्ला बाहिरबाट तरकारी, पशुपंक्षी ल्याउन तनहुँमा रोक लगाइएको छ । निषेध गरेपनि सो निर्णय विपरीत ल्याइएको वस्तु नियन्त्रणमा लिएर गोदम सिल गरिएको हो । व्यास नगरपालिका–३ महर्षि टोलमा तरकारी तथा खाद्यन्‍न पसल सञ्चालन गर्दै आएका मुन्‍नालाल शाह रोनियाले ग १ क ३५१४ नम्बरको ट्रकमा भैरहवाबाट २ सय ७५ बोरा प्याज, ४ बोरा आलु र ६५ बोरा चामाल ल्याएको सूचना पाइएको व्यास नगरपालिकाले जनाएको छ ।

उपप्रमुख मिरा जोशी सहितको अनुगमन टोलीले गोदामको अनुगमन ती सामग्री भेटिएको हो । उपप्रमुख जोशी, ‘जिल्ला बाहिरबाट तरकारी लगायतका खाद्यवस्तु ल्याइएको सूचना प्राप्त हुनासाथ अनुगमनका क्रममा सो परिमाणमा आलु, प्याज भेटिएको हुँदा प्रहरी प्रशासनको रोहोबरमा नियन्त्रणमा लिई गोदाम सिल गरिएको छ, सामान आयत गर्ने व्यक्ति र सो वस्तुको विषयमा जिल्ला प्रशासन कार्यालयको निर्णयानुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’

नगरपालिकालाई मात्रै जिम्मेवार हुने जस्तो गरी प्रहरी प्रशासन सामग्री ल्याउँदा भने चासो नदिएको उहाँको भनाई छ । नगरपालिकाको अगुवाइमा गत शनिबार दमौलीमा बसेको स्थानीय तह, सुरक्षा निकाय तथा स्थानीय उद्योगी व्यवसायी समेतको बैठकले आगामि दिनमा जिल्ला बाहिरबाट आयत गर्ने तरकारीलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

बैठकले जिल्लामै उत्पादित तरकारीलाई व्यवस्थित रुपमा बजारीकरण गर्ने समेत निर्णय गरेको थियो । निर्णय विपरीत भारतीय सीमाबाट आलु, प्याज लगायतका खाद्यवस्तु ल्याउँदा कोभिड १९ को संक्रमण सर्ने सक्ने सम्भावना भएकाले सचेत हुन उहाँले आग्रह गर्नुभयो । सामग्री नियन्त्रणमा लिई गोदाम सिल गरिएको व्यास नगरपालिकाकी उपप्रमुख जोशीले बताउनुभयो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लाका स्थानीय तहहरुले अन्यत्रबाट आउने तरकारी जिल्ला प्रवेशमा निषेध गरिएको छ । पृथ्वी राजमार्गको मुग्लिन पुलबाट नै तरकारी तथा पशुपंक्षी गण्डकी प्रदेश प्रवेशमा रोक लगाइएको छ ।

भारत तथा चीनबाट आउने तरकारी समेत देश भित्रैको भनेर आउन थालेपछि जोखिमबाट जोगिन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनुभयो । जिल्लाका लागि आवश्यक तरकारी यही नै उत्पादन हुने र यहाँ उत्पादित तरकारी अहिले अन्य जिल्लामा निर्यात समेत नभएको अवस्थालाई ख्याल गरी यहीका स्थानीय तह तथा अन्य सरोकारवालाहरुको बैठकले सो निर्णय गरिएको उहाँको भनाई छ ।