फर्किए मनाङेहरु

0
Shares

थुदेन लामा,मनाङ ।

जाडो छल्न काठमाडौं पुगेका मनाङवासी फर्र्किएका छन् । चैत्रको दोस्रो साता मनाङ फर्किने गरेका मनाङेहरु ढिलो गरी फर्र्किएका छन् । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९)को संक्रमण नेपालमा पनि फैलिएपछि देश नै लकडाउनमा परेर ढिलो गरी फर्किएका हुन् । नेपाल सरकारले जिल्लामा फर्किन चाहनेहरुलाई अनुमति दिएपश्चात् उनीहरु फर्किएका हुन् ।

चैत्रको दोस्रो साता मनाङ फर्कने र खेतीपातीमा लाग्ने भएपनि लकडाउनले उनीहरु काठमाडौंमै रोकिएका थिए । लकडाउनले काठमाडौंमा रोकिएका १३९ मनाङे बिहीबार मनाङ आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिनुभयो । सहायक प्रजिअ चालिसेका अुनसार १५ वटा बोलेरोमार्फत् चालक सहित गरी १५५ जना मनाङवासी जिल्ला भित्रिएको हो ।

नार्पाभूमिको ७५, मनाङ ङिस्याङ गाउँपालिकाको ६३ र चामे गाउँपालिकाको एक जना रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।काठमाडौंबाट आउनुभएका सबै मनाङवासीको आवश्यक स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमा राखिने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । नार्पाभूमि गाउँपालिकाको फु गाउँका १२, नार गाउँका ६३ गरी ७५ जना रहेको नार्पाभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणि न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार बाँकी सबै माथिल्लो मनाङको रहनुभएको छ । ‘स्वास्थ्यकर्मी सहित गाउँपालिका अध्यक्ष ती गाउँहरुमा जानुभएको छ, आवश्यक स्वास्थ्य सामग्री सहित गाउँमा जानुभएको हो,’ न्यौपानेले भन्नुभयो ।

सबैको स्वास्थ्य परीक्षण गरेर मात्रै जिल्ला प्रवेश गराइएको नासों गाउँपालिका–१ तालका अहेव धनबहादुर गुरुङले बताउनुभयो । ‘बिहीबार बिहान मात्रै मनाङ प्रवेश गर्नुभएका सबैको थर्मल गनबाट स्वास्थ्य परीक्षण गरिएको थियो, सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ गुरुङले भन्नुभयो ।