लकडाउनमा राजधानीबाट मान्छे ओसार्दै नगरपालिका, पहिलो दिन ६ सय जनालाई घर पुर्याइयो

0
Shares

रामधन राई,खोटाङ । 

खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका आफ्ना नगरवासीलाई काठमाडौँवाट गाउँ ओसार्न थालेका छन् । विभिन्न कामको सिलसिलामा काठमाण्डौं उपत्यकामा बसिरहेको अवस्थामा गरिएको लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई नगरपालिकाले बसको व्यवस्था गरेर घरसम्म ल्याउन सुरु गरेको हो ।

बुधबार साँझ काठ्माण्डौंबाट १२ वटा बसमार्फत पठाइएका ५ सय ८६ सर्वसाधारण बिहिबार बिहान खोटाङको मुख्य नाका जयरामघाटमा आइपुगेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । बसिरहेको ठाउँमा दैनिक आयमुलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको अवस्थामा समस्यामा परेको गुनासो आएकाले उनीहरुलाई होम क्वारेन्टाईनमा राख्ने गरी नगरपालिकाले घरसम्म ल्याउने व्यवस्था मिलाएको हो ।

११ वडा रहेको नगरपालिकाले पहिलो दिन एक देखि पाँच नम्बर वडाका सर्वसाधारणका लागि वसको व्यवस्था मिलाएको थियो । खोटाङ यातायात प्रालिसँगको सहकार्यमा सर्वसाधारण ओसार्न शुरु गरेको नगरपालिकाले बिहिबार साँझ पनि १० वटै बसमार्फत नगरबासीलाई ल्याउने तयारी गरिएको मेयर राईको भनाई छ ।

मेयर राईका अनुसार काठमाण्डौंमा रहेका धेरै नगरवासीले सम्पर्क गरी खान नपाई भोकै परिएको भनी रुँदै दुखेसो पोख्ने गरेका छन् । बुधबार पनि नगरपालिकाका ५१ जना घर फर्किएका छन् । लकडाउनका क्रममा अन्य पालिकाका सर्वसाधारण आफैले बस रिजर्भ गरेर जयराम नाका प्रवेश गरेको नगरपालिकाले जनाएको छ । बिहिबार अन्य स्थानीय तहका ७४ सर्वसाधारण जिल्ला प्रवेश गरेको मेयर राईले जनाउनुभयो ।

काठ्माण्डौंबाट नगरपालिका प्रवेश गर्ने सर्वसाधारणलाई जयरामघाटमा स्वास्थ्य परीक्षण सँगै १४ दिनसम्म होम क्वारेन्टाईन वा नगरपालिकाले तोकेको क्वारेन्टानमा बस्ने लगायतका १० बुँदे कबुलियतनामा गराइरहेको छ । क्वारेण्टाईनमा वसेको समयमा पालना गर्नुपर्ने आचारसंहितामा समेत सहिछाप गराएर मात्र नगर प्रबेश गराईने जनाईएको छ ।नगरबासीलाई घर पठाउनका लागि काठ्माण्डौंबाट युवा नेता रमेश पौडेल, जितेन्द्र ठकुरी, राजबिक्रम चाम्लिङ, दयाराम राई लगायतले समन्वय गरिरहेका छन् ।