११-१२ को परीक्षा केही महिनापछि

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले चैत र वैशाख महिनामा स्थगित भएको कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको अवस्थामा विभिन्न सरोकारवाला निकायले पूर्णरूपमा सवारीसाधन सञ्चालन भएर सामान्य जीवन नचलेसम्म परीक्षा लिन नहुने सुझाएका छन् ।

बोर्डले परीक्षाको तालिका, मोडालिटी र हालको अवस्थाबारे जानकारी दिन बुधबार बोलाएको बैठकमा आधा दर्जन निकायले तत्काल परीक्षा लिन अवस्था नभएको बताएका थिए । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बोलाउनुभएको बैठकमा शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, हिसान, हिस्टान, प्याब्सन काठमाडौंलगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो । बैठकमा अधिकांशले अवस्था सामान्य नभई परीक्षा लिन नहुने बताएका थिए । शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले तत्काल कक्षा १० को परीक्षाका बारेमा चिन्ता भएको बताउँदै कक्षा १२ र ११ को परीक्षा केही महिना ढिलो हुँदा पनि समस्या नपर्ने बताउनुभएको थियो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको र नेपालमा समेत भित्रिएको कोरोनाको प्रभाव कम नभएसम्म र सरकारले जारी गरेको लकडाउन खुकुलो नभएसम्म परीक्षा लिन सम्भव नभएको बताउनुभएको थियो । विश्वका करिब ४४ मुलुकको परीक्षा बोर्डको अवस्था हेर्दा कतिले तत्कालका लागि स्थगित गरेको र कतिले अनलाइन माध्यमबाट परीक्षा लिने तयारी गरिरहेको अवस्थामा नेपालमा हतार गर्नुपर्ने अवस्था नभएको बताउनुभएको थियो ।

‘कम्तीमा पनि १५ दिनअघि सूचना जारी गरेपछि मात्रै परीक्षा लिन सकिन्छ ।’ –उहाँले भन्नुभयो । उहाँले अहिले हतार भएको कक्षा १० को परीक्षा सञ्चालन गर्ने विषयमा विकल्प सोच्नुपर्ने अवस्थामा कक्षा ११ र १२ को विषयमा हतार गर्न नहुने बताउनुभयो ।

सो अवसरमा बोर्डका अध्यक्ष पौडेलले कोरोेना फैलिएपछि विश्वका विभिन्न मुलुकको परीक्षाको अवस्था, नेपालमा परेको असर, एसईई, कक्षा १२ र ११ को परीक्षा व्यवस्थापनलगायतका बारेमा जानकारी दिनुभएको थियो । उहाँले सबैको सहमतिको आधार तय भएपछि मात्रै परीक्षा सञ्चालन गर्न उचित हुने बताउनुभएको थियो ।

‘अवस्था सामान्य नहुन्जेलसम्म परीक्षा लिन सक्ने अवस्था देखिएको छैन ।’ –उहाँको भनाइ थियो । बैठकमा आफ्नो धारणा राख्दै प्याब्सनका महासचिव कुमार घिमिरेले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने धारणा राख्नुभएको थियो । असारसम्म परीक्षा लिन सक्ने अवस्था नभएको उहाँको भनाइ थियो ।

उहाँले स्थगित भएको एसईईको परीक्षाको मोडालिटीको विषयमा पुनः छलफल गर्न आवश्यक रहेको बताउनुभएको थियो । होम सेन्टर, स्वमूल्यांकन गर्नेलगायतका विषयमा समेत सोच्नुपर्ने अवस्था आएको बताउनुभएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोर्डका अध्यक्षको संयोजकत्वमा विज्ञसहितको टोलीले परीक्षा सञ्चालन गर्ने विधिका बारेमा अध्ययन गरिरहेको छ । बैठकमा बोर्डका अध्यक्ष पौडेलले परीक्षाको मोडालिटीका बारेमा समेत छलफल भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘सबैको धारणा लिएका छौं, अब कसरी अघि बढ्ने भन्ने विषयमा मन्त्रीज्यूसहितको टोलीसँग बैठक बसेर निर्णय गर्नेछौं ।’

बैठकमा एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, हिस्टानका अध्यक्ष पुष्प न्यौपाने, हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, बोर्डका सदस्य–सचिव दुर्गा अर्याल, प्याब्सन र एनप्याब्सनका उपत्यकाका प्रतिनिधि परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।