अध्यादेशपछि ओली–प्रचण्डबीच जम्काभेट

नेकपाका दुई अध्यक्षको छुट्टाछुट्टै वक्तव्य

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।

सरकारले ल्याएको दुई अध्यादेशका कारण सत्तारूढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्कपकमल दाहाल ‘प्रचण्ड’ बीच विवाद चुलिएका बेला बुधबार बालुवाटारमा जम्काभेट भएको छ । अध्यादेशपछि उत्पन्न विवादमा आ–आफ्नो रणनीति बनाउन लागेका अध्यक्षद्वयबीच बालुवाटारमा जम्काभेट भएको हो ।

संघीय सांसदहरूलाई बालुवाटारमा बोेलाएर प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई समेत सँगै राखेर छलफल गर्नुभएको छ । दुई दिनअघि सरकारले ल्याएको राजनीतक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशपछि उत्पन्न परिस्थितिका बारेमा अध्यादेश र सरकारका काम–कारबाहीबाट नेकपा कमजोर हुने नभई थप मजबुत बन्दै जाने विश्वास दिलाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले सांसदहरूलाई सम्बोधन गर्दै भन्नुभयो– ‘राजनीतिक पार्टी विचारले एकताबद्ध हुन्छ । हाम्रो पार्टीमा विचार छ । पार्टीले अघि सारेको विचारलाई सबैले आत्मसात् गर्ने कुरा हो । अहिले अध्यादेशका बारेमा धेरै कुरा बाहिर आएका छन् । कतिपयले अध्यादेशका कारण नेकपा कमजोर भयो सक्कियो समेत भनेको सुनेको छु । तर, तपाईंहरू ढुक्क हुनुस् नेकपा कमजोर हुँदैन, बरू बलियो बन्छ ।’

प्रधानमन्त्री ओलीले पार्टीभित्र कुनै पनि परामर्श नगरी विवादास्पद अध्यादेश ल्याएको भन्दै सचिवालय बैठकमामा चर्को ओलोचना भएको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पठाएको अध्यादेश लगत्तै जारी गरेपछि नेकपाभित्र विवाद रहे पनि अन्ततः अध्यादेश रोक्ने बाटो भने बन्द भइसकेको छ । अध्यादेशको विषयलाई लिएर नेकपाभित्रै फुट आउने हो कि भन्ने आशंका उब्जिएका बेला प्रधानमन्त्री ओलीले सांसदहरूसँग छलफल गर्दै अध्यादेशकै कारण नेकपा नफुट्ने विश्वास दिलाउनुभएको छ ।

सांसदहरूलाई आश्वास्त पार्दै प्रधानमन्त्री ओलीले अध्यादेशको बचाउ गरे पनि छलफलमा सहभागी भएका अर्का अध्यक्ष प्रचण्डले भने नेकपाको स्थापना दिवसबारे शुभकामना मात्रै व्यक्त गरेर मौन बस्नुभएको थियो । छलफलमा सुदूरपश्चिम प्रदेश, प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र प्रदेश पाँचका सांसदहरू सहभागी भए पनि प्रदेश दुुईका सांसदहरू भने सहभागी थिएनन् ।

छलफलमा हालै जारी दुई अध्यादेश, कोरोना भाइरसविरूद्ध जारी लकडाउन र आगामी कार्यभारलगायतका विषयमा प्रधानमन्त्री ओलीले सांसदहरूलाई स्पष्ट पार्ने काम गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

खण्डन–मण्डन भएन

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमकल दाहाल ‘प्रचण्ड’ ले फरक–फरक विज्ञप्ति जारी गर्नुभएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताउनुभएको छ– ‘पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि बिराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान् अभियानलाई अघि बढाइयो । सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोगमार्फत मौलिक एवं सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिस्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो ।’

त्य सैगरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरी जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले ऐतिहासिक पार्टी एकतापछि पनि देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको जनाउँदै पाटीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत पार्टी एकतालाई थप सुदृढ बनाउन आग्रह गर्नुभयो । उहाँले यही दिशामा सकारात्मक र रचनात्मक योगदानसहित एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्दै आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रूपमा उभिएको भन्दै अध्यक्ष प्रचण्डले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरूले सुझाएका सुरक्षाका उपायहरूलाई दृढतापूर्वक अवलम्बन गरी त्यसका विरुद्ध एकताबद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायमा उहाँले अपिल गर्नुभएको छ ।

अप्रिल २२ (वैशाख १० गते), ७१ वर्ष पहिले नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेपालमा २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको हो भने वर्तमान सत्तारूढ नेकपाको गत २०७५ जेठ ३ गते एकता भएको थियो ।