लायन्स क्लबहरुको सहयोगमा बेनी अस्पताललाई बाइप्याप मेसिन हस्तान्तरण

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको बेनी अस्पताललाई बुधबार बाइप्याप मेसिन सहयोग प्राप्त भएको छ । म्याग्दी जिल्ला र छिमेकी पर्वत जिल्लास्थित सामाजिक क्षेत्रमा क्रियाशिल संस्थाहरु विभिन्न लायन्स क्लबहरुको आर्थिक सहयोगमा अस्पताललाई बाइप्याप मेसिन खरिद गरी सहयोग हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब अफ बेनी म्याग्दी, म्याग्दी दोभान, बेनी सिटी, बेनी मल्लाज, बेनी पिस सिटी र बेनी महारानीद्वारा आर्थिक सहयोग सङ्कलनसहित बाइप्याप मेसिन खरिद गरी बेनी अस्पताललाई हस्तान्तरण गरिएको छ ।

उक्त मेसिन म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल, अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर अमृत अधिकारी र क्लिनीकल कोअर्डिनेटर डा. नवराज वस्ताकोटीलाई हस्तान्तरण गरिएको लायन्स क्लबले जनाएका छन् । कुल दुईलाख ५० हजार रुपैयाँको लागतमा उक्त बाइप्याप मेसिन खरिद गरी बेनी अस्पताललाई हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालका डेपुटी चिप एड्भाइजर सन्तोष रावलले बताए ।

उनका अनुसार लायन्स क्लब अफ बेनी म्याग्दीको एकलाख र अन्य पाँचवटा क्लबहरुले ३० लाख रुपैयाँका दरले नगद सङ्कलन गरी मेसिन उपलब्ध गराइएका हुन् । लायन्स क्लब अफ बेनी म्याग्दीका पूर्व अध्यक्ष एवं मेसिन खरिद अभियानको संयोजन समेत गरेका रावलले बेनी अस्पतालमा हाल एउटा पनि भेन्टिलेटर नभएको अवस्थामा मिनी भेन्टिलेटरको काम गर्नेगरी बाइप्याप मेसिन सहयोग गरिएको जानकारी दिएका छन् ।

लायन्स क्लबहरुले आर्थिक सहयोग सङ्कलन गरी खरिद गरेर उपलब्ध गराएको मेसिन बेनी अस्पतालमा खासगरी श्वासप्रश्वासका बिरामीहरुको उपचारमा प्रयोग गरिने अस्पतालका क्लिनीकल कोअर्डिनेटर डाक्टर नवराज वस्ताकोटीले बताए । बिरामीको फोक्सोमा समस्या देखिएको खण्डमा मेसिनको सहायताले श्वासप्रश्वास भित्र र बाहिर आवतजावत गराउन सकिने उनले जानकारी दिए । यसअघि बाइप्याप मेसिन नहुँदा श्वासप्रश्वासका बिरामीहरुको उपचार गर्न समस्या भैरहेको अवस्थामा लायन्स क्लबले हस्तान्तरण गरेको मेसिनले बिरामीलाई राहत मिलेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

बाइप्याप मेसिन हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष चन्द्रप्रकाश बराईली, म्याग्दी दोभानका अध्यक्ष जानकी विश्वकर्मा, बेनी सिटीका अध्यक्ष कृष्णबहादुर बानियाँ, बेनी मल्लाजका अध्यक्ष दिनेश बानियाँ, बेनी पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठ र बेनी महारानीका अध्यक्ष रन्जिता भट्टचनसहित क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सामाजिक क्षेत्रमा क्रियाशिल लायनहरु आबद्ध रहेको लायन्स क्लबले म्याग्दी जिल्लाको शिक्षा, स्वास्थ्यसहित विभिन्न क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ । लायन्स क्लबले समुदायस्तरमै पुगेर सञ्चालन गर्ने गरेको खासगरी निःशुल्क आँखा शिविर कार्यक्रम निकै प्रभावकारी मानिन्छ ।

यसैबीच सोही अवसरमा मोना स्पेनले पनि बेनी अस्पताललाई एकथान बाइप्याप मेसिन उपलब्ध गराएको जनाएको छ । उक्त मेसिन पनि प्रजिअ ढकालमार्फत अस्पतालका अध्यक्ष कटुवाल र मेडिकल सुपरीटेन्डेन्ट डा. अधिकारीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य लगायतले सहभागिता जनाएका थिए ।